चीनको सैन्य अभ्यासप्रति जापान र ताइवानको आपत्ति



सैन्य अभ्यास सुरु गरेको चीनले प्रहार गरेका पाँचवटा चिनियाँ क्षेप्यास्त्र आफ्नो विशेष आर्थिक क्षेत्रमा अवतरण गरेको जापानले जनाएको छ ।

जापानका रक्षामन्त्री नबुओ किशीले कूटनीतिक च्यानलमार्फत कडा रूपमा त्यसको प्रतिवाद गरेको बताए । ताइवानले भने आफ्नो भूमि वरपर चीनले अहिलेसम्म ११ वटा क्षेप्यास्त्र प्रहार गरिसकेको जनाएको छ ।


चीनले ताइवानको उत्तरपूर्वी र दक्षिणपश्चिमी तटहरू वरपरको समुद्रमा थुप्रै डङ्फेङ् बलिस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेको बताइएको छ । ताइवानले चीनले यस क्षेत्रमा यथास्थिति परिवर्तन गर्न खोजिरहेको बताएको छ ।

हाल ताइवान र त्यहाँबाट अन्यत्र जाने ५० भन्दा बढी अन्तर्राष्ट्रिय उडानहरू रद्द गरिएका छन् । यद्यपि, ताइपेईको जनजीवन सामान्य चलिरहेको बीबीसीले जनाएको छ । ताइवानको मुख्यभूमि मामिलासम्बन्धी निकायले चीनले अन्तर्राष्ट्रिय समुदायलाई यस टापुलाई सहयोग नगर्न बाध्य तुल्याउने प्रयास गरिरहेको बताएको छ ।

त्यस्तै चीनमाथि क्षेत्रीय शान्ति बिथोलेको र नाकाबन्दी लगाएको ताइवानको आरोप छ । त्यस्तै उसले चीनको सैन्य अभ्यासविरुद्ध तयारी गरिरहेको छ ।