काठमाडौँ । काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा अमेरिकी डलर देखाई शृंखलाबद्ध ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । बौद्ध, टोखा, कपनलगायतका क्षेत्रमा सस्तो दररेटमा अमेरिकी डलरसँग नेपाली रुपैयाँ साटिदिने प्रलोभनमा पारी शृंखलाबद्ध ठगी गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसे ३ थलाडाँडा घर भई हाल बौद्ध आरुबारी बस्ने ३२ वर्षीय सन्जय तामाङ र थलाडाँडा नै घर भई ललितपुरको धापाहाइट बस्ने ३१ वर्षीय विष्णु तामाङ रहेका छन् ।
टोखाको युनिक कोलोनीबाट १५ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूको साथबाट ५, १० र २० दरका नेपाली नोट र केही अमेरिकी डलरसमेत बरामद भएको छ ।
उनीहरूले आफूहरूसँग अमेरिकी डलर रहेको भन्दै फोनमार्फत साट्नका लागि एकान्त स्थानमा बोलाउने र ग्राहकसँग भएको लाखौँ रुपैयाँ लुटेर फरार हुने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । उनीहरूले हालसम्म काठमाडौं उपत्यका र उपत्यका बाहिरसमेत गरी ५ वटा यस्तै प्रकृतिका घटना गराएको प्रहरीको दाबी छ ।