काठमाडौँ । सरकारले अमेरिकाको स्टेट पार्टनरसिप प्रोगाम (एसपीपी) मा सहभागी नहुने निर्णय गरेको भए पनि त्यससम्बन्धी पत्र नपठाइएको भन्दै नेकपा एमालेका सांसद भीमबहादुर रावलले सरकारलाई रुलिङ गर्न माग गरेका छन् ।
प्रतिनिधिसभाको बैठकमा यसअघि नै गृहमन्त्री बालकृष्ण खाँड र परराष्ट्रमन्त्री डा नारायण खड्काले एसपीपीमा सहभागी नहुने भन्ने जानकारी गराइसकेको बताउँदै सांसद रावलले सदनमार्फत सरकारलाई रुलिङ गर्न माग गरेका हुन्
मन्त्रिपरिषदले एसपीपीमा सहभागाी नहुने निर्णय गरिसकेको अवस्थामा पत्राचार गर्न कसले र किन रोकेको भन्दै उनले लगातार सदनमार्फत सरकारलाई रुलिङ गर्नुपर्ने माग जारी राखे ।
सभामुखको आशनमा रहेकी सांसद सत्या पहाडीले पटक–पटक सांसद रावललाई आशन गर्न आग्रह गरेपनि सांसद रावलले एसपीपीमा सहभागी नहुने पत्र पठाइ सदनलाई जानकारी गराउपर्ने माग रोष्टममै उभिएर जारी राखे ।
बैठकमा, ग्लोबल ग्रिनग्रोथ इस्टिच्यूटको सहभागितामूलक सदस्यको रुपमा सदस्यता प्राप्त गर्न स्वीकृति प्रदान गर्नेसम्बन्धी सम्झौतामाथि सदनमा छलफल गरियोस् भन्ने प्रस्तावमाथि छलफल भइरहेको थियो । सो प्रस्तावमा सांसदहरुहरु शक्तिबहादुर बस्नेत र पूर्णाकुमारी सुवेदीले आफ्नो धारणा राखेका थिए ।
सो प्रस्तावमा धारणा राख्न रोष्टममा पुगेका सांसद रावलले एसपीपीको विषय उठाएर सरकारलाई रुलिङ गर्न माग गरेका हुन् । उनले सरकारलाई सहयोग गर्नका लागि नै यस्तो माग राखेको बताए ।
सभामुख अग्निप्रसाद सापकोटाले पनि पटक–पटक विषयान्तर भएको भन्दै आशन ग्रहण गर्न आग्रह गरे । पटक पटकको आग्रहलाई सांसद रावलले अस्वीकार गरेपछि सभामुख सापकोटाले बैठक १५ मिनेटका लागि स्थगित गरेका छन् ।