जिफण्टको अध्यक्षमा विनोद श्रेष्ठ पुनः निर्वाचित



काठमाडौँ । नेकपा एमालेको जनसंगठन नेपाल ट्रेड युनियन महासंघ (जिफण्ट) को आठौं राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा विनोद श्रेष्ठ पुनः निर्वाचित भएका छन् ।

सोमबार सम्पन्न महाधिवेशनले श्रेष्ठलाई अध्यक्षमा सर्वसम्मत रूपमा पुनः निर्वाचित गरेको हो । श्रेष्ठ नेकपा (एमाले) को केन्द्रीय सदस्य हुन् । महाधिवेशनले ५७ सदस्यीय राष्ट्रिय समितिका अधिकांश पदाधिकारी तथा सदस्यहरू सर्वसम्मत निर्वाचित गरेको छ ।


नयाँ कार्य समितिका सात उपाध्यक्षमा रमेश वडाल, विदुर कार्की, जितेन्द्र श्रेष्ठ, कमल गौतम, मञ्जु थापा, सीता लामा र जनक चौधरी छन् ।

महासचिवमा लक्ष्मण शर्मा निर्वाचित भएका छन् । त्यस्तै, छ जना सचिवमा स्मृति लामा, महेन्द्रलाल श्रेष्ठ, कृष्णबहादुर केसी, हरि कार्की, डेलीमाया घले र तारानिधि पन्त निर्वाचित भएका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले साउन ७ गते ललितपुरको गोदावरीमा महाधिवेशनको उद्घाटन गरेका थिए ।