आयात प्रतिबन्ध भदौ १४ गतेसम्म लम्बियो



काठमाडौँ । आयात प्रतिबन्धलाई भदौं १४ गतेसम्म लम्ब्याएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले मोटरसाइकल र मोबाइल आयातमा थप कडाई गर्दै समय थपेको हो । विदेशी मुद्रा संचिति घट्दै गएपछि सरकारले आयात प्रतिबन्ध लगाएको हो। सरकारले १५० सीसी भन्दा माथिका मोटरसाइकल ल्याउन प्रतिवन्ध लगाएको छ।

यसअघि २५० सीसीमाथिका मात्रै आयातमा प्रतिवन्ध थियो। त्यस्तै मोबाइलमा तीन सय डलरसम्मका मात्रै ल्याउन खुला गरेको छ। यसअघि ६ सय डलरसम्म ल्याउन पाइन्थ्यो । यस्तै कुरकुरे, कुरमुरे, लेज र यसका उत्पादनमा आयात प्रतिबन्ध लगाइएको छ। औद्योगिक कच्चा पदार्थ बाहेक सबै प्रकारका मदिरा आयातमा प्रतिबन्ध लगाइएको छ ।


यसैगरी औद्योगिक कच्चा पदार्थ बाहेक चुरोट सुर्तिजन्य पदार्थ ल्याउन पाइने छैन। यसैगरी हिरा पनि ल्याउन रोक लगाइएको छ । त्यस्तै ३२ इन्च भन्दा बढीको रंगिन टीभी ल्याउन रोक लगाइएको छ। यसैगरी जीप कार भ्यान आयातमा पनि पुर्ण प्रतिबन्ध लगाइएको छ । खेलौनाहरुमा पनि प्रतिबन्ध लगाइएको छ । मन्त्रालयले बैशाख १३ गते राजपत्रमा सुचना प्रकाशित गरी विभिन्न वस्तुमा चालु वर्षको अन्त्यसम्म आयात प्रतिबन्ध लगाएको थियो। प्रतिबन्धलाई ४४ दिन थप गरेको हो ।