उपेन्द्र यादव पक्षले बाबुरामलाई कारबाही गरेको जानकारी आयोगलाई दिँदै



काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) ले संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईसहित नौ नेतालाई कारबाही गरेको जानकारी निर्वाचन आयोगलाई दिन लागेको छ । जसपा अध्यक्ष उपेन्द्र यादव पक्षको वीरगञ्जमा सम्पन्न केन्द्रीय समिति बैठकले डा. भट्टराईसहित नौ नेतालाई जिम्मेवारीबाट हटाएको छ ।

डा. भट्टराईको ठाउँमा अशोक राईलाई संघीय परिषद् अध्यक्षको जिम्मेवारी दिइएको छ । यसबारे अद्यावधिक गराउनका लागि यादव पक्ष निर्वाचन आयोग जान लागेको जसपाका केन्द्रीय कार्यालयका सचिव प्रकाश अधिकारीले जानकारी दिए ।


डा. भट्टराई सहित नौ जनालाई जिम्मेवारीबाट हटाइएको र राईलाई संघीय परिषद् अध्यक्षको जिम्मेवारी दिइएको जानकारी आयोगलाई दिने उनले बताए । यादव पक्षले कारबाही गरेसँगै डा. भट्टराईले पार्टी पुनर्गठन गर्ने बताएका छन्। उनले केन्द्रदेखि गाउँसम्म पार्टी पुनर्गठनमा लाग्न नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन्।