स्थानीय निर्वाचनमा कांग्रेसले गरेको चलाखी संघ र प्रदेशमा चल्दैन : पुन



सिन्धुपाल्चाेक । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले स्थानीय तहमा जस्तो प्रदेश र संघको चुनावमा नेपाली काँग्रेसको चलाखी अब नचल्ने धारणा व्यक्त गरेका छन् ।

सिन्धुपाल्चोकको चौतारामा शनिबार आयोजित माओवादी पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिका लागि आयोजित कार्यक्रममा नेता पुनले स्थानीय तहको चुनावमा कांग्रेसले आफू जित्ने ठाउँमा माओवादीलाई अरुसँग गठबन्धन गर्न नदिने, माओवादी जित्ने ठाउँमा अरुसँग गठबन्धन गर्ने अनि आफू जित्ने ठाउँमा एक्लै निर्वाचनमा गएर चलाखी गरेको बताए ।


नेता पुनले भने, ‘स्थानीय तह निर्वाचनमा काँग्रेसले गठबन्धनको नाउँमा  चलाखी गरेको देखियो। आफू जित्ने ठाउँमा माओवादीलाई अरूसँग गठबन्धन गर्न नदिने, माओवादी जित्ने ठाउँमा अरूसँग गठबन्धन गर्ने अनि आफू एक्लै जित्ने ठाउँमा सिङ्गल लड्ने गरेको देखियो। अब आउने निर्वाचनमा काँग्रेसको त्यस्तो चलाखी चल्दैन ।’ नेता पुनले काँग्रेसको चलाखीका बाबजुद अझै पनि काँग्रेससँगको गठबन्धनको औचित्य नसकिएको टिप्पणी गरे । अहिलेकै गठबन्धनलाई निरन्तरता दिने पक्षमा आफूहरू रहे पनि सम्मानजनक गठबन्धन भएन भने गठबन्धन टुट्न पनि सक्ने उनले चेतावनी दिए ।

‘केपी ओली प्रवृत्तिको कारण संविधान र लोकतन्त्र नै खतरामा परेको अवस्थामा गठबन्धन बनेको थियो र अझै जरुरी रहेको छ, नेता पुनले सिन्धुपाल्चोकका नेता कार्यकर्तालाई प्रशिक्षण दिँदै भने, ‘आगामी निर्वाचनमा बाम गठबन्धनको चर्चा चले पनि केपी ओली प्रवृत्ति रहेसम्म त्यो सम्भावना छैन ।’