सेनाले अमेरिकालाई पत्र लेखेको सत्य हो, तर सैन्य समझदारीका लागि होइन : प्रधानसेनापति शर्मा



काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्माले अमेरिकालाई पत्र लेखेको सत्य भएको तर सैन्य समझदारीका लागि नभएको बताएका छन् । 

शुक्रबार संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समिति बैठकमा प्रधानसेनापति शर्माले स्टेट पार्टनरसिप प्रोग्राम(एसपीपी) बारे स्पष्ट पार्दै सेनाले सैन्य गठबन्धनको सम्झौता नगरेको बताएका हुन् ।


‘सेनाले लेखेको चिठी बाहिर निस्केर सनसनी फैलाएको वाला सत्य हो । २७ अक्टोबर २०१५ मा लेखेको हो । नेपालमा भर्खर भूकम्प आएर २७ देशबाट सैनिक आएर मित्रराष्ट्रका सैनिक गैरसैनिक आएको लेखिएको साँचो हो । यो चिठीको सैन्य गठबन्धन हुन होइन । यो चिठी लेख्दैमा सैन्य गठबन्धन हुने कुराको म विरोध गर्न चाहन्छु,’ प्रधानसेनापति शर्माले भने ।

अमेरिकाको युटा राज्यबाट सहयोग सामग्री लिन सहज हुने भएकाले त्यसपछि पनि २ वटा चिठी लेखिएको उनले बताए । ‘पछि २ चिठी पनि लेखिएको हो । अमेरिकी सरकारबाट युटा राज्यको एसपीपी सामग्री दिनका लागि दिन अमेरिकी सरकारले एसपीपीबाट दिने र सजिलो हुने भएपछि मानवीय सहयोग नेपालमा ल्याउन लेखिएको हो । नेपालको बर्खिलाप जाने भनेर र सैन्य गठबन्धनमा जाने भनेर होइन । सेना परराष्ट्र नीतिमा स्पष्ट छ,’ उनले भने । तत्कालीन प्रधानमन्त्री तथा रक्षामन्त्रीको स्वीकृतिमा नै पत्र लेखेको उल्लेख गर्दै उनले भने, ‘तत्कालीन प्रधानमन्त्री र रक्षामन्त्रीको स्वीकृतिमा पत्र लेखिएको हो । तत्कालीन रुपमा एसपीपी सैन्य गठबन्धनमा थिएन । सन् २०१९ मा आईपीएसमा एसपीपी गएपछि हामीले असजिलो हुन्छ भनेर सरकारलाई रिभ्यू गर्न भनेका हौँ ।’

उक्त कार्यक्रमबाट हतियार किन्न एक रुपैयाँ पनि नआएको उल्लेख गर्दै उनले भने, ‘यसै कार्यक्रमअन्तर्गत ४ सैन्य जहाज सहयोग लिएका छौँ । २ आइसकेको छ, १ मेडिकल जहाजका रूपमा आउन लागेको छ । एक सर्भिलेन्समा छ । यसबाट पैसा, हतियार बम बारुद केही पनि आएको छैन । यो कार्यक्रमले हामीलाई अहिलेसम्म एक रुपैयाँको हतियार आएको छैन । १० बुँदे गलत हो । सेनाले विदेशसम्बन्धी कुरा रक्षा र परराष्ट्र मन्त्रालयसँग छलफल गरेको छ ।’