मन्त्रालयको बिदाइ कार्यक्रममा रामकुमारी झाँक्रीकाे अश्रुधारा



काठमाडौँ । सहरी विकास मन्त्रालयले आयोजना गरेको बिदाइ कार्यक्रममा मन्त्री रामकुमारी झाँक्री भावुक बनेकी छन् । मन्त्रालयमा आइतबार साँझ आयोजित पत्रकार सम्मेलनको सुरुमै उनी भावुक हुँदै रोएकी हुन् ।

उनले आफूले वाचन गर्ने पत्र हेर्दै टिस्यू पेपरले आँसु पुछेकी थिइन् । मन्त्रालयका कर्मचारीहरूले बिदा गर्ने क्रममा उनले आँसु पुछिरहिन् । उनले पत्रकारहरुसँग खुलेर बोल्न समेत सकिनन् ।


आँशु पुच्छै झाँक्रीले भनिन्, ‘एकदमै गाह्रो भयो म कमजोर मान्छे।’ आँशु पुछ्दैगर्दा मन्त्रालयका सचिवले ‘यत्तिको एक्सेस भएको मन्त्री पाउन गाह्रो छ। उहाँको कार्यकालमा राम्रो व्यवस्थापन भएको छ’ भन्दै ढाड्स दिएका थिए।

पत्रकार सम्मेलनमा कर्मचारीले मन्त्रालयको प्रगति विवरण पढेर सुनाएका थिए । उनले आफू बोल्न सक्ने हालतमा समेत नरहेको बताइन् । पत्रकारको तर्फबाट दुईवटा मात्रै प्रश्न गर्न उनले आग्रह गरिन् । तर, पहिलो प्रश्नमै उनी रुन थालेकी थिइन् ।

सञ्चारकर्मीले प्रश्न गर्दैगर्दा उनी झाँक्रीका बर्बरी आँश झारिरहेकी थिइन् । केही सञ्चारकर्मीले प्रश्न सोधे पनि उनले आफूले बोल्नै नसक्ने भन्दै आग्रह गरिन् । ‘म बोल्नै सक्दिनँ। मलाई बोल्न गाह्रो भयो,’ उनले भनिन्, ‘म इमोशनल मान्छे। इग्नोर गर्‍यो भन्नुहोला।’ 

पार्टी सचिवालय बैठक फिर्ता बोलाउने निर्णय गरे पनि राजीनामा नदिने अडान राखेकी मन्त्री झाँक्रीले अन्तिममा आइतबार बाहिरिने निर्णयमा पुगेकी हुन् ।