जिसस सप्तरीमा कांग्रेसका साह विजयी



राजविराज । जिल्ला समन्वय समिति सप्तरीमा सत्तारूढ गठबन्धनको प्यानल विजयी भएको छ । आज सम्पन्न जिसस प्रमुखमा गठबन्धनबाट नेपाली कांग्रेसका शिवनारायण साह विजयी भएका हुन् ।

उनले २३ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी (जसपा) र नेकपा (एमाले) गठबन्धनका उम्मेदवार छेदी अरगरिया यादवले ११ मत प्राप्त गरे ।


सप्तरीमा १८ स्थानीय तहका प्रमुख उपप्रमुख गरी समितिको निर्वाचनमा ३६ जनाले भाग लिएका थिए । उपप्रमुखमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का शम्भुकुमार यादव २० मत ल्याएर विजयी भएका छन् । उनका निकटम प्रतिद्वन्द्वी एमालेका देवकान्त चौधरीले १४ मत ल्याए ।

महिला सदस्यमा नेपाली कांग्रेसकी रञ्जिताकुमारी चौधरी (थरुनी), जनमत पार्टीकी प्राणवती देवी सरदार र नेकपा (एकीकृत समाजवादी) की सविताकुमारी साह निर्वाचित भए । सदस्यमा नेपाली कांग्रेसका जागेश्वर यादव, जनमत पार्टीका बृधिलाल यादव र लोसपाका सत्यनारायण मण्डल निर्वाचित भएका छन् ।

दलित वा अल्पङ्ख्यक सदस्यमा एकीकृत समाजवादीका बौहुरी भगत निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । कूल ३६ मतमध्ये दुई मत बदर भएको छ । नेपाली कांग्रेस, जनमत पार्टी र लोसपा पार्टी मिलेर कांग्रेसका निर्वाचित साहलाई उम्मेदवार बनाइएको थियो ।