झापामा अविरल वषा : नदी तथा खोलामा पानीको बहाव बढ्दा जमिन कटान सुरु, १६० घर उच्च जोखिममा



झापा । सोमबार रातिदेखि आएको अविरल वषाले जिल्लाका नदी तथा खोलामा पानीको बहाव बढ्दा जमिन कटान सुरु भएको छ । कमल गाउँपालिका–५, ६ र ७ नं वडामा रतुवा नदीले कटान गर्न सुरु गरेको रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले जानकारी दिए ।

त्यस्तै कमल–६ को खयरबारीमा जनताको तटबन्धअन्तर्गत निर्माण गरिएकोे बाँधमा पनि कटान सुरु भएको छ । सोही गाउँपालिकाका घनश्याम धिमाल र धनमाया तामाङको दुई वटा सुगुर फार्म बगाएको छ । वडा नं ६ र ७ का घरपरिवार जोखिममा रहेको रेडक्रस झापाले जनाएको छ ।


कमलखोलाले केम्पा बजारपूर्व कमलपुल घाटउत्तर पुरानो बाँधसमेत भत्काएको छ । यता रतुवा खोलाले गौरादह–५ र ६ को कोहवरा उत्तर टङ्वाका करिब ६० घर डुबानमा परेका छन् भने गौरादह–६ को लेलिया डाँगीमा १२५ घरको दुवैतर्फबाट रतुवाखोला बगेकाले उच्च जोखिममा परेका छन् ।

गौरादह–६ कै दामुनाखोला सुकुम्बासी बस्तीमा पस्दा ३५ घर उच्च जोखिममा परेका छन् । वर्षाका कारण शिवसताक्षी नपा–४ सन्थाल बस्ती (सुकुम्बासी बस्ती) मा कमल–बनियानी खोलाको पानी पसेको छ । खोला बस्ती पस्दा त्यहाँका ३० घर डुबानमा परेको छ । बस्तीमा करिब चार फिट पानी पसेपछि सो बस्तीका १०६ जनालाई स्थानीय त्रिभुवन मावि राखिएको नेपाल रेडक्रस सोसाइटी झापाले जनाएको छ ।