जनताले प्रत्यक्ष अनुभूति गर्ने गरी काम गर्न सञ्चारमन्त्रीको निर्देशन



काठमाडाैँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जनताले प्रत्यक्ष अनुभूति गर्ने गरी काम/कारबाही गर्न मन्त्रालयअन्तर्गतका निकायलाई निर्देशन दिएका छन् ।

मन्त्रालयद्वारा आज आयोजित ‘आव २०७८/०७९ को तेस्रो त्रैमासिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति’को बैठकमा उहाँले सञ्चार मन्त्रालय सरकारको अनुहार र नागरिकसँग प्रत्यक्ष सरोकार राख्ने मन्त्रालय भएको बताउँदै जनतालाई प्रत्यक्ष लाभ हुने गरी, प्रतिफल आउने जनमुखी काम गर्न अपिल गरेका हुन् ।


उनले भने, “तपाईहरु जुनजुन जिम्मेवारीमा हुनुहुन्छ, म तपाईहरूलाई एउटा प्रश्न गर्न चाहान्छु, यो त्रैमासिक प्रगति समीक्षामा तपाईहरु सन्तुष्ट हुनुहुन्छ ?, वास्तवमा मैले हेर्दाखरी म उत्साहजनक र सन्तोष गर्ने अवस्थामा छैन, हामीले कार्य सम्पादनको निम्ति सम्झौता पनि ग¥यौँ, तर त्यो सम्झौताअनुसार हाम्रा पाइला अगाडि बढेका छन् कि छैनन्, सम्झौताअनुसार काम भएको छ कि छैन, अब समीक्षाबाट पाठ सिकेर अगाडि बढ्नुपर्ने छ ।”

उनले टेलिकममा देखिएको टावर नटिप्ने समस्या जतिसक्दो चाँडो समाधान गर्न निर्देशन दिँदै इन्टरनेटको समस्या समाधान गर्नुपर्नेमा जोड दिए । सरकारका प्रवक्ता कार्कीले आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम र बजेटमा समावेश गर्नुपर्ने विषयलाई बजेटमा समावेश गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । जनताले विकास र समृद्धि चाहेको हुँदा तीव्र गतिमा काम गर्नेपर्ने उनको भनाइ छ ।