घरदैलोमा ‘सगुन’ खाँदा उम्मेदवारसहित ३ जना बिरामी, हरिवन बजार तनावग्रस्त



सर्लाही । सर्लाहीको हरिवन नगरपालिका वडा नम्बर ११ का उम्मेदवारसहित ३ जना गाउँलेले दिएको ‘सगुन’ खाँदा बिरामी परेका छन् । निर्वाचन प्रचारप्रसारका क्रममा रहेका माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवार शेष इस्तिहारसहित ३ जना बिरामी भएका हुन् । 

आइतबार दिउँसो घरदैलोको क्रममा माओवादी केन्द्रको वडाध्यक्ष पदका उम्मेदवार शेख इस्तिहारसहितका उम्मेदवारलाई घरदैलोको क्रममा विपक्षी दलका कार्यकर्ताले मिठाइमा विष मिसाएर सेवन गराएको माओवादी केन्द्रले आरोप लगाएको छ। 


अहिले पूर्व-पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको हरिवन बजार तनावग्रस्त बनेको छ । नेकपा माओवादी केन्द्रका कार्यकर्ताले राजमार्ग बन्द गराएपछि तनाव सिर्जना भएको हो। माओवादीका कार्यकर्ताले अहिले राजमार्गमा टायर बालेर नाराबाजीसहित प्रदर्शन गरिरहेका छन्। 

बिरामी भएकामध्ये शेषलाई थप उपचारका लागि वीरगन्ज पठाइएको छ भने बाँकी दुई जनाको स्थानीय अस्पतालमै उपचार भइरहेको छ ।

प्रहरीले घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको जनाएको छ।