काठमाडाैँ । महिला टी ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत आज भएको पहिलो खेलमा नेपाल अफ्रिकी राष्ट्र युगान्डासँग पराजित भएको छ । कीर्तिपुरथित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपाल युगान्डासँग १२ रनले पराजित भएको हो ।
युगान्डाले जीतका लागि दिएको १०३ रनको लक्ष्य पछ्याएको नेपाल २० ओभरमा ९ विकेट गुमाएर ९० रनमा समेटियो । नेपालका लागि इन्दु वर्माले सर्वाधिक १६ रन जोडिन् भने डोली भट्टले १३ रन बनाइन् । विन्दु रावल १२ रनमा आउट हुँदा कविता कुँवरले ११ रन जोडिन् । त्यसैगरी कप्तान रुबिना क्षेत्री ९ रनमा आउट भइन् भने ज्योति पाण्डेले ६, रोमा थापाले ५, कविता जोशीले ४ तथा अप्सरी बेगमले १ रन जोडिन् ।
बलिङमा युगान्डाकी कोन्सी अवेको र सारा एकिटेङले समान दुई/दुई विकेट लिए भने जनेट एमबाबाजीले १ विकेट लिइन् । त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको युगान्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १०२ रनको योगफल बनायो ।
युगान्डाका लागि जनेट एमबाबाजीले सर्वाधिक २९ रनको योगदान दिइन् । त्यसैगरी केभिन अविनोले १५ रन बनाइन् भने फ्रान्कलिन नाजुम्बाले १२, रीता एनयागेन्गोले १८ तथा रीता मुसामालीले १३ जोडिन् । बलिङमा नेपालकी कविता कुँवरले २ विकेट लिइन् भने कप्तान रुबिना क्षेत्री, कविता जोशी र इन्दु बर्माले समान एक÷एक विकेट लिए ।
यस जीतसँगै युगान्डाले पाँच खेलको सिरिजमा १–० को अग्रता बनाएको छ । अब नेपालले भोलि युगान्डासँग दोस्रो खेल खेल्नेछ ।