२० हजार घन मिटरको ढुंगा हटाएर सेनाले जोगायो बस्ती



काठमाडौंँ । २०७२ सालको भूकम्पले हल्लाएको विशाल ढुंगो बस्तीमा झर्नबाट नेपाली सेनाले जोगाएको छ । नुवाकोटको दुप्चेश्वर गाउँपालिका वडा नम्बर–१ नेगीको बस्तीमाथि रहेको ठूलो ढुंगा नेपाली सेनाले ‘अपरेसन दुप्चेश्वर’ मार्फत फुटाएर बस्तलाई सुरक्षित बनाएको हो ।

घ्याङ्गफेदीस्थित नेगी गाउँको बस्तीमाथी रहेको करिब २० हजार घन मिटरको ठूलो ढुङ्गा, नुवाकोट जिल्ला विपद् व्यवस्थापन कोष र दुप्चेश्वर गाउँपालिकासँगको सहकार्यमा श्री कालीभञ्जन गण (ई) बाट खटिएको दक्ष जनशक्तिले फाल्गुण १४ गतेबाट ब्लाष्टिङ्ग कार्य शुरु गरी मिति बैशाख १५ गते उक्त ढुङ्गा व्यवस्थापन कार्य सम्पन्न गरेको नेपाली सेनाले जनाएको छ ।


नेगी बस्तीमा ४७ धुरी र एक आधारभूत विद्यालय रहेको छ । उक्त बस्तीभन्दा ५ सय मिटरमाथि ‘पल्सङ’ नाम गरेको विशाल ढुंगा बस्तीमा खस्ने अवस्थामा थियो । ढुंगा खसेपछि विद्यालय र स्थानीय बासिन्दालाई क्षति पुर्याउने भएपछि गएको वर्ष जिल्ला विपद् व्यवस्थापन समितिलाई स्थानीयवासी र गाउँपालिकाले हटाइदिन अनुरोध गरेका थिए ।
फोटोः नेपाली सेना