नेपाल–भारत सीमाको दशगजामा कडाइ



नेपालगञ्ज । बाँकेको नेपाल–भारत सीमाको दशगजा क्षेत्रबाट अवैध हातहतियार भित्रिन सक्ने र निर्वाचन प्रभावित हुने भन्दै नाकामा कडाइ गरिएको छ ।

यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा खुला सीमाका कारण भारतबाट अवैध घटना हुन सक्ने सम्भावना रहेको उल्लेख गर्दै नाकामा कडाइ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । अहिले जमुनाह र रुपैडिया नाकामा दुुवै देशका सुरक्षाकर्मीले आवागमनमा सुरक्षा जाँचलाई कडाइ गरेको र दुवै देशका सुरक्षाकर्मीले संयुक्त सुरक्षा गस्तीसमेत सुरु गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिए ।


प्रनाउ न्यौपानेले सीमा क्षेत्रमा नेपाल र भारतको तर्फबाट आज बस्ने संयुक्त सुरक्षा अधिकारीहरूको बैठकले नाकाका विषयमा ठोस निर्णय लिने जानकारी दिँदै त्यसका लागि नेपालको तर्फबाट तयारी भइरहेको बताए । सो बैठकले निर्वाचनलाई ध्यानमा राखेर नेपालगञ्जको मुख्य नाका ७२ घण्टाका लागि बन्द हुनेलगायतका निर्णय हुने बताइएको छ ।

सीमा क्षेत्रको जमुनाह गेटबाट पश्चिम सुक्खा बन्दरगाह क्षेत्र र सो अगाडि साइगाउँसम्म सुरक्षाकर्मीले संयुक्त गस्तीसमेत गर्नेछन् । जिल्लासँग भारतको सीमा जोडिएको क्षेत्र ६५ किलोमिटर पर्छ ।