कमल थापाको गणतान्त्रिक राप्रपा नेपाल ?



टिप्पणी ।

अन्ततः कमल थापा राप्रपा नेपालकै अध्यक्ष बनेका छन । स्व. रबिन्द्रनाथ शर्माको अगुवाईमा जन्मेको, पद्म सुन्दर लावतीहरुले हुर्काए, बढाएको राप्रपा नेपाल, धेरै राजनीतिक घुम्ती र मोडहरु पार गरेर राप्रपा नै समाहित भएको घोषणा भैसक्या थियो । तै पनि, लाक्पा लामाले यसको बिऊ जोगाएका रहेछन । राप्रपाको एकता महाधिवेशनमा कमल थापा पराजित भएपछि उनले सुरुमा हारको कारण निर्मल निवासलाई लगाए । अनि राप्रपा छाडे । र, अन्तिममा कमल राप्रपा नेपालमा नै समाहित भए । राप्रपा छाडेर राप्रपा नेपालको अध्यक्ष भएको घोषणा कमल थापाले फागुन ७ गते गर्नेछन ।


भनिन्छ, राजनीतिमा असंभव केही हुदैन । कमल थापा र उनको राप्रपा नेपालको राजनीतिक उतारचढाब हेर्ने हो भने, त्यो पनि सही प्रमाणित हुन्छ । कमल थापाले गणतन्त्रको खाँडो जागेका बेला उल्टो नदी बगाउने जस्तो राजसंस्था र हिन्दुराज्य पुर्नस्थापनाको गगनभेदी नारा लगाए । तीन सीटे राप्रपा नेपाललाई २५ सिटे बनाए । राजेन्द्र लिंग्देनसंग महाधिवशेनमा पराजित नहुदासम्म राप्रपा नफुटाउने कसम पवित्र धार्मिकग्रन्थ गीता छोएर खाईदिने मान्छे कमल थापा नै थिए । तीन कार्यकाल आफै अध्यक्ष रहेको राप्रपामा जुनी काट्ने वाचा गीता छोएर गरेका थापाले आफू अध्यक्ष हार्नासाथ पार्टी छाडे । अनि पानीमाथिको ओभानो हुदै भने, राप्रपा फुटाएको होईन, राप्रपा छाडेको मात्र । अजब राजनीतिक खेलाडी कमल थापाको गजब तर्क बाहिर आयो ।

जब दोस्रो संविधान सभामा राप्रपा नेपाल २५ सिटे भयो । यसले पट्क पट्क सत्ता यात्रा गरयो । सिद्धान्त राजसंस्था र हिन्दुराज्य पुर्नस्थापनाको राख्ने, अनि गणतन्त्रको सरकारमा सामेल हुने र गणतान्त्रिक संविधान संसारकै उत्कृष्ट भनेर राष्ट्रसंघीय महासभामा भाषण गर्ने कमल थापा नै थिए । थापाकै राप्रपा नेपाल थियो । उसो त कमल थापाले सत्ता यात्रा गरेपछि उनको दल पट्क पट्क फुटयो । उनले आफूलाई मुलधारे राप्रपा भनेर दाबी गरिरहे । आफू विरोधीहरुलाई पार्टीबाट किनारा लगाउदै आएका थिए । राप्रपालाई दरवारको भजनमण्डली होईन भन्दै उनले दरवारसंग बेला बेलामा घुर्की र धम्की दिदै आएका थिए । यस्ता कैयन उदाहरण छन, जसले कमल थापाको राजनीतिक दर्शन एकातिर र राजनीतिक कर्म अर्कोतिर थियो भन्ने प्रमाणित गरिआएकै थियो ।

अहिले देशमा दक्षिणपन्थको उभार आउने संकेतहरु देखा परिरहेका छन । राप्रपामा राजेन्द्र लिंग्देनको उदयले पूर्व राजावादी र हिन्दुवादीहरुमा नयाँ खाले एकता र सहकार्यको संभावना घनिभुत भैरहेको छ । नेकपाको बिभाजन , एमालेको फुटले राप्रपालाई बलियो बैकल्पिक शक्ति बनाउने संकेतहरु बढेका छन । यो बेला पूर्वराजा राजाकै हैसियतमा विज्ञप्ती जारी गर्ने र पृथ्वी सालिकमा फूलमाला चढाउन सडकमा आउने अभ्यास गरिरहेका छन । स्वयं गणतन्त्रवादीहरु नै गणतन्त्र विरुद्ध खतरा बढेको, प्रतिगमन आउन खोेजेको हौवा पिटाईरहेका छन । यस्तो बेलामा एकतावद्ध राप्रपा नै वैकल्पिक शक्ति बन्ने अनुमान र आँकलन भैरहेका थिए, छन ।

तर अभागिलाई खाने बेला रिस उठछ भने झैं, देशमा राजावादीहरुको, हिन्दुवादीहरुको खाँडो जाग्ला की क्या हो भन्ने जस्तो भैरहेका बेला कमल थापा राप्रपा छाडेर राप्रपा नेपालको पुर्नगठनमा लागेका छन । जीवनभर राजा र राजसंस्थाको निगाहा र छत्रछायाँमा यो स्तरको राजनीतिक उचाई हासिल गरेका कमल थापा अहिले राजा विरोधी, राजसंस्था विरोधी तर हिन्दुवादी पार्टीको अभ्यासमा लागेका छन ।

राजनीतिमा कमल थापा आफू नै फस्टम्यान हुनैका लागि उनले यो सबै गरिरहेका छन । उनको पछिल्लो क्रियाकलापले उनले राजसंस्थाको मुद्धालाई आफू सत्ता र शक्तिमा पुग्ने अस्त्र मात्र बनाएको प्रमाणित भएको छ । यसले उनको भावि राजनीतिक यात्रा कस्तो बनाउला भन्ने त अहिल्यै अनुमान गर्न सकिन्न । तर उनले जीवनभर राजसंस्थाको आदर्श बोकेर गरेको राजनीति अहिले राजावादीहरुको चहलपहल बढिरहेका बेला राजाविरोधी विन्दुमा पुग्नुले कमल थापाको राजनीतिक बेईमानी र पूर्वराजालाई राम्रै धोकाघडी भएको भनी आलोचानाहरु भैरहेका छन ।

गणतन्त्रका बेला राजाको मुद्धा बोक्ने कमल थापा अहिले गणतन्त्रमाथि चौतर्फी प्रश्न उठेका बेला गणतन्त्रवादी, हिन्दुवादी राजनीतिका नौका हाँक्न खोज्दै छन । उनले सबसे बढी राजेन्द्र लिंग्देनको राप्रपालाई चोईटयाउलान, तर काँग्रेस र कम्युनिष्टहरुलाई जितेर सत्ताको यात्रासम्म पुग्न त निकै पापड बेल्नुपर्ला । राजासंग रिस उठेर राजसंस्थाको मुद्धा नै मुल्तवीमा राखेर हिन्दुवादको राजनीति गर्ने कमल थापालाई गीताको कसम तोडेको बात लाग्ला नलाग्ला ? राप्रपा एकता भंग गरेको पाप लाग्ला नलाग्ला ? दरवारको नूनको सोझो नगरेको पाप कराउला नकराउला त्यो भने समयले नै बताउला । तर, एउटा कुरा सत्य हो, कमल थापा राजनीतिमा जायज, नाजायज जे सुकै हत्कण्डाका साथ आफू माथि पर्न र आफै मात्र सही र ठीक प्रमाणित गर्न लागि पर्ने चतुर राजनीतिक खेलाडी भने हुन भन्ने उनकै पछिल्लो राजनीतिक कर्मले प्रमाणित गरेको छ नी, छैन र ?