सञ्चारमन्त्री कार्की आइसोलेसनमा, पीसीआर रिपोर्ट नआएसम्म भेटघाट बन्द



काठमाडाैँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की आइसोलेसनमा बसेका छन् । सत्ता गठबन्धनका शीर्ष नेतामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएपछि सञ्चारमन्त्री कार्की आइसोलेसनमा बसेका हुन् ।

सञ्चार मन्त्रालयका सहसचिव एवम् मन्त्रालयका प्रवक्ता विनोदप्रकाश सिंहका अनुसार कन्ट्याक ट्रेसिङमा परेपछि मन्त्री कार्कीले आइतबारदेखि भेटघाट बन्द गरेका हुन् ।‘सत्ता गठबन्धनका शीर्ष नेतामा संक्रमण पुष्टि भएपछि प्रधानमन्त्रीसँगै उहाँ कन्ट्याक ट्रेसिङमा पर्नुभएको हो’, प्रवक्ता सिंहले भने, ‘पीसीआर रिपोर्ट नआएसम्मका लागि उहाँले भेटघाट बन्द गर्नुभएको छ ।’


प्रधानमन्त्री देउवा शनिबारदेखि नै आइसोलेसनमा छन् । बैठकमा सहभागी नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता नारायणकाजी श्रेष्ठलगायतमा कोरोना पुष्टि भएपछि उक्त बैठकमा सहभागी नेता आइसोलेसनमा बसेका हुन् ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता श्रेष्ठसँगै नेताहरु हरिबोल गजुरेल, मातृका यादव, डोरप्रसाद उपाध्याय, रामप्रसाद सापकोटा, रमेश मल्ल, सुमन देवकोटा, सुबोध सेर्पाली, पञ्चा सिंह, प्रकाशचन्द्र पाण्डेमा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु सबैको स्वास्थ्य सामान्य रहेको बताइएकाे छ ।