पर्सा जिल्ला प्रशासन कार्यालयमा आलोपालो सेवा



वीरगञ्ज । कोभिडको पछिल्लो नयाँरुप ओमिक्रोन भेरियन्टको सङ्क्रमण फैलिँदै गएपछि सम्भावित जोखीम न्यूनीकरण गर्ने उद्देश्यले पर्सा जिल्ला प्रशासन कार्यालयले सेवाग्राहीलाई आलोपाले सेवा दिने भएको छ ।

आगामी माघ २ गते आइतबारदेखि लागू हुनेगरी जिल्लाभरिका सबै पालिकालाई सातामा दुई दिन तोकिएको समय पर्ने गरी सेवा दिने प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए । सो बमोजिम आइतबार र सोमबार कालिकामाई, ठोरी, पकाहा मैनपुरगाँउ, धोबिनी, छिपहरमाई र पटेर्वा सुगौली गाउँपालिकाका सेवाग्राहीको कार्य हुने छ । मङ्गलबार र बुधबारका दिन जगरनाथपुर, विन्दवासिनी, पोखरीया, पर्सागढी र बहुदरामाई नगरपालिका क्षेत्रको पालो राखिएको छ । बिहीबार र शुक्रबार जिरा भवानी तथा सखुवा प्रसौनी गाउँपालिका र वीरगञ्जमहानगर पालिकाका सेवाग्राहीको काम हुने जनाइएको छ ।


जिल्लामा पछिल्लो समय कोभिड सङ्क्रमण बढ्दै गएपछि भीडभाड कम गरी स्वास्थ्य मापदण्ड अपनाएर आलोपाले सेवा दिन जिप्रकाले जिल्लास्थित सबै कार्यालयलाई निर्देशन दिएको छ । यसैबीच कोभिडको पछिल्लो नयाँ रुप ओमिक्रोन भेरियन्टको सङ्क्रमण फैलिँदै गएपछि सम्भावित जोखीम न्यूनीकरण गर्ने उद्देश्यले प्रजिअ उमेशकुमार ढकाल आफै जनचेतनामूलक अभियानमा जुटेका छन् । सर्वसाधारणलाई वर्तमान् अवस्थामा स्वास्थ्य मापदण्डमूलक सन्देश प्रवाह आवश्यक रहेकाले आफै मास्क वितरणसहित अन्य जनचेतनामूलक अभियानमा जुटेको उनले जानकारी दिए ।

आम नागरिकमा लापरबाही गर्ने परिपाटीले गर्दा जोखिम बढ्नसक्ने भएकाले मास्क वितरणसहित अन्य जनचेतना जगाउन प्रजिअ ढकालसहित जिल्लास्थित सुरक्षा निकायका प्रमुख अभियानमा लागेका हुन् । जिप्रकाले सामुदायिक प्रहरी सेवा केन्द्रसँगको सहकार्यमा आयोजना गरेको सचेतनामूलक कार्यक्रमअन्तर्गत एकै दिन करिब पाँच हजारलाई निःशुल्क रुपमा मास्क वितरण गरिएको थियो । यसैबीच जिप्रकाले सार्वजनिकस्थलमा मास्क नलगाउनेलाई रु १०० जरिवाना गर्ने रणनीति अघि बढाएको छ ।