काठमाडौं । नेकपा (माओवादी केन्द्र)को काठमाडौंमा जारी आठौँ महाधिवेशनअन्तर्गत आज पनि पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रतिवेदनमाथि छलफलबाट निकालिएको निष्कर्षको रिपोर्ट पेश गर्ने क्रम जारी छ ।
माओवादी केन्द्रका प्रमुख सचितेक देवप्रसाद गुरुङले कमलादीस्थित प्रज्ञा भवनमा रिपोर्ट पेश गर्ने क्रम जारी रहेको जानकारी दिए । उनले विहान ११ बजेदेखि सुरु भएको बन्दसत्रमा अहिलेसम्म करिब पाँच जनाले आफ्नो रिपोर्ट प्रस्तुत गरिसकेकाे बताए । बुधबारदेखि रिपोर्ट प्रस्तुत गर्ने क्रम सुरु भएको थियो । सो दिन ११ टोलीका संयोजकले आफ्नो रिपोर्ट पेश गरेका थिए ।
त्यस्तै, बिहीबार बाँकी १४ टोलीका संयोजकले आफ्नो रिपोर्ट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।महाधिवेशनमा बन्दसत्रको पहिलो दिन सोमबार पार्टी अध्यक्ष प्रचण्डले २१ औँ शताब्दीमा समाजवादको नेपाली बाटो शीर्षकको वैचारिक तथा राजनीतिक दस्तावेज र स्थायी कमिटी सदस्य देवप्रसाद गुरुङले विधान मस्यौदा प्रस्तुत गरेका थिए । माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशन पुस ११ गतेदेखि प्रज्ञा भवनमा सुरु भएको हो ।