गुरुङ समुदायको संस्कृति संरक्षण गर्न सरकारले सहयोग गर्छ : प्रम देउवा



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले तमु समुदायको भाषा, संस्कृतिको संरक्षण र संवर्द्धन गर्न सरकारले सहयोग गर्ने बताएका छन् । तमु ल्होसारको अवसरमा बिहीबार काठमाडौंको टुँडिखेलमा आयोजित कार्यक्रममा आफ्नो मन्तव्य राख्दै यस्तो बताएका हुन् ।

प्रधानमन्त्री देउवाले गुरुङ समुदायको तमु ल्होसार पर्वले मुलुकको आर्थिक तथा सामाजिक विकासमा समुदायले पुर्याउँदै आएको योगदानलाई उजागर गर्दै समुदायको सभ्यता र संस्कृतिलाई अन्य समुदायसमक्ष चिनाउन मद्दत गर्ने बताए ।


‘तमु ल्होसार पर्वले तमु समुदायहरुमा विभिन्न वर्ग, संस्कृति, समुदाय र क्षेत्रसँग सम्वद्ध नागरिकको बीच आपसी मेलमिलाप, श्रद्धा र सहिष्णुता सुनिश्चित गर्न पनि सहयोग पुग्ने विश्वास लिएको छु,’ उनले भने ।

साथै उनले तमु ल्होसारका अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीको सुख, शान्ति, सुस्वास्थ्य र दीर्घायुका लागि शुभकामना व्यक्त गरेका छन् । त्यस्तै विविधताभित्र एकता र सामाजिक सद्भाव कायम गर्ने कुराहरु हाम्रा सांस्कृतिक सभ्यासका असल उदाहरण भएको समेत बताएका छन् ।

गुरुङ समुदायले बिहीबार गाई वर्ग (ल्वो ल्ही)को बिदाई र बाघ वर्ष (तो ल्हो) स्वागत गर्दै देश–विदेशमा तमु ल्होसार मनाएको हो । गुरुङ समुदायको बाहुल्य रहेका लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, कास्की र पर्वतलगायतका जिल्लामा यो पर्व अपार उमङ्गलका साथ मनाउने गरिन्छ ।