बाक्लो हुस्सुका कारण आन्तरिक र अन्तर्राष्ट्रिय उडान प्रभावित



काठमाडौँ । बाक्लो हुस्सुका कारण देशभरको आन्तरिक र अन्तराष्ट्रिय उडान पूर्णरुपमा ठप्प भएको छ । देशभर सञ्चालनमा रहेका ३५ वटा विमानस्थलमा उडान ठप्प भएको छ भने विहान ६ बजेको तालिका अनुसारनै अन्तराष्ट्रिय उडान हुन नसकेको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलले जनाएको छ ।

हुस्सुका कारण जहाज उडान र अवतरणका लागि भिजिवलिटी अपुग हुँदा बिहान १० बजेसम्म उडान हुन नसकेको विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिए । मंगलबारदेखि मौसम वदलीका कारण चिसो बढेसँगै हवाइ उडान पनि प्रभावित हुँदै आएको छ । शुक्रबार १३९ अराइभल र १३९ डिपार्चर गरी २७८ वटा नियमित आन्तरिक उडान तालिका रहेको छ ।


तीन सय मिटर मात्र भिजिवलिटी रहेकाले विहानैदेखि उडान र अवतरण हुन नसकेको विमानस्थलले जनाएको छ । अन्तराष्ट्रिय उडानका लागि कम्तिमा एक हजार मिटरसम्म भिजिवलिटी हुनु पर्ने हुन्छ । हाल नेपालमा यती एयरलाइन्स, बुद्ध , श्री, सौर्य, नेपाल एअरलाइन्स, गुण, तारा, समिट र सीता एयरलाइन्सले दैनिक उडान भर्दे आएका छन् । यता ३० विमान कम्पनीले दैनिक ६० वटा भन्दा बढी अन्तराष्ट्रिय उडान गर्ने गरेको विमानस्थलको तथ्याङ्क छ ।

यता मौसम पुर्वनुमान महाशाखाका वरिष्ठ मौसमविद् बरुण पौडेलले अरव सागरबाट नेपाल प्रवेश गरेको जलवाष्पसहितको वायु रोकिएपनि स्थानीय वायुका कारण चिसो कायमै रहदाँ बाक्लो हुस्सु लागेको बताए । अझै एक साता स्थानीय वायुको प्रभाव रहने उनले बताए ।