थप ३९७ जना सङ्क्रमित, ३८९ सङ्क्रमणमुक्त



काठमाडाैं, २४ कात्तिक। देशभर पछिल्लो २४ घण्टामा थप ३९७ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय ११ हजार ६६ को परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । य

ससँगै नेपालमा पीसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या आठ लाख १६ हजार ४१५ पुगेको छ । एन्टिजेन परीक्षण गर्नेको सङ्ख्या ९५ हजार ३७ जना रहेको छ ।


यस्तै पछिल्लाे २४ घण्टामा थप ३८९ जना निको भएका छन् । यससँगै निको हुनेको सङ्ख्या सात लाख ९७ हजार ४४८ पुगेको छ । निको हुने दर ९७.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लाे २४ घण्टामा थप तीन जनाले सङ्क्रमणका कारण ज्यान गुमाएको मन्त्रालयले जनाएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ४६९ पुगेको छ । अहिले यस रोगबाट हुने मृत्युदर १.४ प्रतिशत छ ।

त्यसैगरी पछिल्लो समय ९३ हजार ६९५ ले खोप लगाएको मन्त्रालयले जानकारी दिएको छ । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या सात हजार ४९८ रहेको छ । अहिले होम आइसोलेशनमा ६ हजार ९४५, संस्थागत आइसोलेशनमा ५५३, आइसीयुमा १९० र भेन्टिलेटरमा ५७ जनाले उपचार गराइरहेका छन् ।