प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै कानून व्यवसायी आन्दोलनमा



१४ कात्तिक । प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराको राजीनामा माग गर्दै कानून व्यवसायीहरु धर्नामा बसेका छन् ।  आइतबार सर्वोच्च अदालत परिसरमा नेपाल बार एशोसिएशनको नेतृत्वमा हातमा कालो पट्टी बाँधेर कानून व्यवसायी धर्नामा बसेका हुन् ।

सोमबारदेखि इजलास बस्न नसकेको, प्रधानन्यायाधीशविरुद्धको इजलास बहिष्कार र न्यायालयमा देखिएका विकृतिका विरुद्ध कानुन व्यवसायीहरु धर्नामा बसेका हुन् । नेपाल बार एसोसिएसनका महासचिव लिलामणि पौडेलले शुक्रबारको निर्णय अनुसार आफूहरूले  धर्ना सुरु गरेको बताए ।


बिरोध कार्यक्रममा पूर्वसभामुख दमननाथ ढुंगाना, सर्वोच्च अदालत बार एशोसिएशनका अध्यक्ष पूर्णमान शाक्य, नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठलगायत कानुन व्यवसायीहरु सहभागी भएका थिए । ढुंगानाले स्वतन्त्र, सक्षम न्यायपालिकाको लागि बिरोध गर्नुपरेको बताए ।

उनले संविधानबाट चल्ने न्यायपालिका र संस्थाहरु सबै खतरामा रहेको बताए । सर्वोच्च अदालत बार एशोसिएशनका अध्यक्ष शाक्यले कानून व्यवसायीहरुको यो बिरोध प्रधानन्यायाधीशको लागि मात्रै नभएर न्यायपालिकाको शुद्धिकरणको लागि भएको बताए ।

नेपाल बार एशोसिएशनका अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीशको राजीनामा नै पहिलो बिन्दु रहेको बताए । उनले प्रधानन्यायाधीशले राजीनामा दिएपछि मात्रै न्यायपालिकाले स्वतन्त्र भएर काम गर्न पाउने भन्दै न्यायपालिका विकृति, विसंगति र भ्रष्टाचारपूर्ण हुन नदिनको लागि बाधक तत्वहरुको बिरुद्धमा लागि पर्ने बताए ।

न्यायपालिकाको विकृति, विसंगतिबिरुद्ध नेपाल बार एशोसिएशनको अगुवाईमा कानून व्यवसायीले कार्तिक १४, १५, १६ र १७ गते कालोपट्टीसहित बिरोध कार्यक्रम गर्ने घोषणा गरेको गरेको थियो ।