जङ्गली हात्तीको बथानले सामुदायिक वनको भवन भत्कायो



१४ कात्तिक । शुक्लाफाँटा नगरपालिका–८ फुलेलीमा रहेको बैजनाथ सामुदयिक वन उपभोक्ता समितिको कार्यालय भवन आज बिहान जङ्गली हात्तीको बथानले भत्काई दिएको छ ।

सामुदायिक वनको कार्यालय भवन भत्काएपछि त्यसभित्र रहेका महत्वपूर्ण कागजपत्र, दराज, कम्प्युटर लगायतमा क्षति पुगको छ । “बिहानको झिसमिसेमै आएको हात्तीको बथानले कार्यालय भवन भत्काएको छ”, सामुदायिक वनका अध्यक्ष बहादुरसिंह महराले भने, “पूरै भवनको पर्खाल भत्काई दिएकाले ठूलै क्षति भएको छ ।” कार्यालयभित्र राखेका सबै सामान कामै नलाग्ने गरी क्षति भएको उनले बताए । केही दिनअघि देखि हात्तीको बथान सामुदायिक वन क्षेत्रमै रहँदै आएकाले सतर्कता अपनाउँदै आएको उनले जानकारी दिए ।


सतर्कता अपनाउँदा अपनाउँदै पनि एकाएक आएको हात्तीको बथानले कार्यालय भवन भत्काएको छ । कार्यालयमा चौकीदारलगायत वनका पदाधिकारी कोही नभएकाले मानवीय क्षति हुनबाट जोगिएको उनले बताए । केही दिनअघि मात्रै हात्तीको बथानले बेलडाँडी गाउँ नजिकै रहेको थारू सङ्ग्रहालयको भवनसमेत भत्काई क्षति गरेको थियो । झण्डै दुई साताअघि मात्रै शुक्लाफाँटा– १२ वसन्तपुरका दम्पतीको हात्तीले आक्रमण गरी ज्यान लिएको थियो । गत वर्षसमेत शुक्लाफाँटा–१ बन्साहामा हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको थियो ।