सभामुखले बोलाएको सर्वदलीय बैठक एमालेले बहिष्कार गर्ने



२८ भदाै । सभामुख अग्नि सापकोटाले बोलाएको सर्वदलीय बैठक प्रमुख प्रतिपक्षी दल एमालेले बहिष्कार गर्ने भएको छ। सभामुख सापकोटाले सोमबार दिउँसो साढे २ बजे संसदमा प्रतिनिधित्व गर्ने दलहरूको बैठक बोलाएका छन्।

सभामुखले बोलाएको सर्वदलीय बैठकमा एमालेले उठाएका प्रश्नको जवाफ ननिस्किने भएकाले नजाने निर्णय भएको एमालेका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।


‘सभामुखले समस्या समाधान गर्ने तरिका नै अपनाउनुभएन । हामीले उठाएका प्रश्नको जवाफमा शेरबहादुर देउवा, प्रचण्ड, माधव नेपाल, उपेन्द्र यादवलाई बोलाएर मिल्दैन,’ भट्टराईले भने, ‘सिधै बालकोट (केपी शर्मा ओलीको निवास) मा बैठक गरौं न, केको ल्याङफ्याङ हो सभामुखको ?’

सभामुखको भूमिका बदनियतपूर्ण रहेको भट्टराईले आरोप लगाए । ‘बैठकमा देउवा, प्रचण्ड र माधवकुमार नेपाललाई बोलाएर आफ्नो पक्षमा माहोल सिर्जना गर्न खोजिएको हो । हामी किन सहभागी हुने ?,’ उनले भने ।

‘एमालेसँग सम्बन्धित छलफलमा अरूलाई किन बोलाउनु पर्‍यो भन्ने हाम्रो भनाइ हो। असम्बन्धित दलका नेतालाई बोलाएको बैठकमा हामी जाँदैनौं,’उनले भने,’अब सभामुखसँग दुई वटामात्रै विकल्प छन्, कि त हामीले कारबाही सिफारिस गरेका सांसदहरूको लिष्ट टाँस्नुपर्‍यो नभए मार्गप्रशस्त गर्नुपर्‍यो।’

आफूले कारबाही गरेका १४ जना सांसदको सूचना नटाँसेर सभामुखले उनीहरूलाई नयाँ दल खोल्न सहज बनाइदिएको भन्दै एमालेले लगातार संसद बैठक अवरूद्ध गरिरहेको छ।