एमसीसीकी उपाध्यक्ष सुमार र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता



२४ भदाै । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) की उपाध्यक्ष फातिमा सुमारसहितको टोली प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेको छ ।

बिहीबार बिहान काठमाडौं आएको उपाध्यक्ष सुमरको टोलीले सबैभन्दा पहिले ओलीसँग भेटवार्ता गरेको हो । ओलीलाई भेट्न उनीहरु बालकोट पुगेका हुन् । भेटमा सुमारसँगै एमसीसीका सहायक उपाध्यक्ष जोनाथन ब्रुक्स पनि सहभागी छन् ।


सरकारमा रहँदा एमसीसी परियोजना संसद्बाट पास गर्नका लागि निकै जोडबल गरेका ओलीसँगको भेटपछि सुमारको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्ने बताइएको छ ।

ओलीले प्रधानमन्त्री हुँदा एमसीसी पारित हुनुपर्ने बताएका थिए। तर, हाल विपक्षमा पुगेपछि उनले एमसीसीबारे आफ्नो धारणा बदलेका छन् । त्यसैले पनि ओलीसँग एमसीसीका प्रतिनिधिको भेटलाई महत्वका साथ हेरिएको छ ।

सुमर नेतृत्वको टोलीले प्रधानमन्त्री देउवाका साथै अन्य राजनीतिक दलका नेताहरुसँग पनि छलफल गर्ने कार्यक्रम रहेको छ । एमसीसी परियोजना संसदबाट पारित गर्नुपर्ने सरकारलाई दबाव परेको बेला सुमरको भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।