१५ भदाै । कोरोना सङ्क्रमण दर न्यून भएसँगै वागलुङका विद्यालय खुल्न थालेका छन् । विद्यालयले जनस्वास्थ्य मापदण्ड अपनाएर भौतिक उपस्थितिमै पठनपाठन शुरु गरेका हुन् । कक्षागत रुपमा बार छुट्ट्याएर बालबालिकालाई पढाउन थालिएको ताराखोला गाउँपालिका–४ स्थित नेपाल माध्यमिक विद्यालयका प्रधानाध्यापक उमानाथ अधिकारीले बताए ।“बालबालिकालाई कहिलेसम्म पढाइबाट वञ्चित गर्ने ?”, उनले भने, “महामारीको जोखिम कम भएका ठाउँमा विद्यालय खुलेका छन् ।”नेपाल माविमा पूर्वप्राथमिकदेखि कक्षा ५ सम्म आइतबार, मङ्गलबार, बिहीबार ६ देखि ९ सम्मको कक्षा सोमबार, बुधबार, शुक्रबार र कक्षा १० आइतबारदेखि शुक्रबारसम्म सञ्चालन भइरहेको छ ।
सानो उमेरका बालबालिकाका लागि अनलाइन कक्षा प्रभावकारी नभइरहेका बेला गाउँका विद्यालयले स्वास्थ्य सुरक्षालाई ध्यान दिँदै प्रत्यक्ष सिकाइविधि अपनाएका हुन् । दुर्गममा इन्टेरनेटको सहज पहुँच नहुँदा अनलाइन कक्षा सञ्चालनमा चुनौती छ । केही समय विद्यार्थीका घरघरमा पुगेर टोल शिक्षामार्फत सिकाइ सहजीकरण गरिए पनि त्यसलाई निरन्तरता दिन व्यवस्थापकीय कठिनाइ भएको प्रअ अधिकारीको भनाइ छ । कक्षाकोठाभित्र भौतिक दुरी कायम गर्ने, अनिवार्य मास्क लगाउने कुरामा भने कडाइ गरिएको उनले बताए । गाउँपालिका अध्यक्ष प्रकाश घर्तीले कोरोना सङ्क्रमणको अवस्था हेरेर जोखिम नभएका ठाउँमा विद्यालय खोल्ने निर्णय गरिएको बताए ।
“सङ्क्रमण बढेको स्थितिमा त खोल्ने कुरा भएन, जोखिम नभएका ठाउँमा जनस्वास्थ्यका मापदण्डपालना गरेर विद्यालय चलाउनुपर्छ”, उनले भने । शिक्षकले कोरोना विरुद्धको खोप लगाएका कारण पनि प्रत्यक्ष सिकाइ सहजीकरणका लागि केही सजिलो भएको अध्यक्ष घर्तीले बताए । गाउँपालिकाका अन्य विद्यालयले पनि स्थानीय अनुकूलता हेरेर विद्यालयमै प्रत्यक्ष पठनपाठनको प्रबन्ध मिलाएका छन् । कतिपयले तल्लो कक्षाका बालबालिकालाई भौतिक उपस्थितिमा र माथिल्लो तहकालाई अनलाइनमार्फत पढाइरहेका छन् । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रले भने अझैपनि विद्यालय सञ्चालनमा रोक लगाइरहेको छ ।
वैकल्पिक माध्यमबाट सिकाइलाई निरन्तरता दिन भनिए पनि गाउँका विद्यालयमा त्यो सम्भव हुन सकिरहेको छैन । बालबालिकाको पढाइ बिग्रने र शैक्षिक सत्र नै प्रभावित हुने देखिएपछि विद्यालय खोल्ने निर्णयमा स्थानीय तह पुगेका हुन् । तमानखोला गाउँपालिकाका शिक्षा शाखा प्रमुख पूर्णबहादुर घर्तीले सुरक्षा अपनाएर विद्यालय खोल्ने विषयमा योजना बनिरहेको बताए । वैकल्पिक सिकाइ सहजीकरणलाई पनि प्रभावकारी बनाउन गाउँपालिकाले पहल थालेको उनको भनाइ छ । “सिकाइबाट बालबालिका वञ्चित नहुन भन्नेमा हामी सचेत छौँ, विस्तारै अब विद्यालय पनि खोल्नुपर्छ”, प्रमुख घर्तीले भने ।
यहाँका अन्य स्थानीय तह पनि विद्यालय सञ्चालनको तयारीमा जुटेका छन् । शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख कुस्मराज उपाध्यायले महामारीको प्रकोप नभएको ठाउँमा पालो बाँडेर कक्षा चलाउनुपर्ने बताए । कोरोनाको पहिलो लहर थामिएपछि केही समय खुलेका विद्यालय पुनः दोस्रो लहर भित्रिएसँगै गत वैशाखदेखि बन्द छन् । केही दिनयता यहाँ कोरोना सङ्क्रमितको सङ्ख्या घट्दो क्रममा छ । स्वास्थ्य कार्यालयका अनुसार हाल जिल्लामा कोरोनाका सक्रिय सङ्क्रमित जम्मा १७३ छन् जसमध्ये सबैभन्दा धेरै बागलुङ नगरपालिकामा ८४ सङ्क्रमित छन् भने तमानखोलामा सङ्क्रमण शून्य छ ।