संवैधानिक परिषदसम्बन्धी मुद्दाको पेसी प्रधानन्यायाधीशले नतोक्ने, फैसला गर्ने दिन बिदामा बस्ने



११ भदाै । सर्वोच्च अदालतले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश र त्यसका आधारमा गरिएको नियुक्तिविरुद्ध परेको मुद्दा शुक्रबार ‘हेर्न नभ्याइने’ सूचीमा परेको छ ।शुक्रबारका लागि परेको उक्त रिटको पेशीको सुनुवाइ ‘हेर्न नभ्याइने’ सूचीमा राखिएको सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले जानकारी दिए ।

२०७७ मंसिर ३० मा सरकारले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धी ऐन, २०६६ लाई संशोधन गरेर अध्यादेश जारी गरेको थियो ।यसविरुद्ध सर्वोच्चमा ६ वटा रिट परेका थिए । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले संसद् विघटन गरी ल्याएको अध्यादेशमार्फत् दुई पटक गरी ५८ पदाधिकारीलाई संवैधानिक निकायमा नियुक्ति गरिएको थियो ।


सर्वोच्चका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको संयोजकत्वमा न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खडका, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको संवैधािनक इजलासमा सुनुवाइ परेको थियो ।तर, अध्यादेश अनुसार संवैधानिक परिषद्ले गरेको निर्णयमा संलग्न भएको र अध्यादेश संविधानसम्मत् रहेको भनी लिखित जवाफ लेखेकाले प्रधानन्यायाधीश जबरारहीत इजलासमा सुनुवाइ हुनुपर्ने रिट निवेदकहरुले माग गरेका छन् ।

शुक्रबार रिट निवेदकहरुले प्रधानन्यायाधीश जबरालाई उक्त मुद्दामा स्वार्थ बाझिने भन्दै इजलासमा नबस्न दबाब दिएका थिए । सो रिट निवेदनमाथिको सुनुवाइबाट प्रधानन्यायाधीश अलग हुने कि नहुने भन्नेबारे लामो बहसपछि प्रधानन्यायाधीश जबराले इजलासमा आफ्नो भूमिका सीमित तुल्याएका हुन् । जसअनुसार सो रिट निवेदनमाथिको पेसी तोक्न उनको भूमिका रहने छैन । रिट निवेदनको पेशी तोक्ने अधिकार वरिष्ठ न्यायाधीश दीपककुमार कार्कीले पाएका छन् । यस्तै मुद्दाको फैसला हुने दिन प्रधानन्यायाधीश जबरा बिदामा बस्नेछन् ।