विद्युत प्राधिकरणमा कुलमानको नियुक्तिविरुद्ध हितेन्द्रले दिए सर्वोच्चमा रिट



३२ साउन । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदमा ‘थमौती गरिपाउँ’ भन्दै हितेन्द्रदेव शाक्यले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका छन् । प्राधिकरणमा कुलमान घिसिङको नियुक्ति ‘बदर गरिपाउँ’ भनेर शाक्यले दायर गरेको रिट  निवेदन दर्ता गरेका छन् । उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, उर्जा मन्त्रालय, उर्जामन्त्री, नेपाल विद्युत प्राधिकरणको सञ्चालक समिति र कार्यकारी निर्देशक कुलमान घिसिङलाई विपक्षी बनाएका छन् ।

आफूलाई राजीनामा गर्न दवाव दिएको तर आफूले राजीनामा नदिएको भन्दै शाक्यले आफूलाई जल तथा उर्जा आयोगको उर्जा विशेषज्ञ सदस्य पदमा नियुक्त गर्ने सरकारको निर्णय गलत भएको दावी गरेका छन् । आफूले त्यो पद अस्वीकार गरेकाले प्राधिकरणको कार्यकारी निर्देशक पदमा आफ्नो हक कायमै हुने उनको दावी छ ।


रिटमा शाक्यले पदाधिकारीबाट आफूलाई हटाएको आधिकारिक पत्र नपाएको र सरकारले आफूलाई हटाएर कुलमानलाई ल्याउँदा ‘संविधान सम्मत मेरो अधिकार हनन भएको’ दावी गरेको अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलले रातोपाटीलाई बताए । शाक्यले विद्युत प्राधिकरणमा आफैंलाई कायम गर्न अन्तरिम आदेशको माग गरेका छन् । 

यसअघि शाक्यकै सहमतिमा सरकारले कुलमानलाई प्राधिकरणमा नियुक्त गरेको दावी गरिएको थियो । शाक्यलाई सचिव सहरको सेवा सुविधा दिइ ऊर्जा आयोगमा ४ वर्षका लागि नियुक्ति गरिएपनि उनी एकाएक सर्वोच्च गएका हुन् ।