कुलमानको नियुक्तिविरुद्ध परेको रिटमा ३ दिनभित्र मिसिल झिकाउन सर्वोच्चको आदेश



८ भदाै । सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङकाे नियुक्ति विरुद्ध हितेन्द्रदेव शाक्यले दायर गरेको रिटमा मिसिल झिकाउने आदेश गरेको छ ।

मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले कुलमानलाई नियुक्ति गर्दाको मिसिल झिकाउने आदेश गरेको हो । त्यस्तै शाक्यलाई विद्युत विकास निगममा लैजान गरिएको निर्णयको प्रति पनि झिकाउने आदेश गरेको छ ।


शाक्यले कुलमानको नियुक्ति बदर गर्न अन्तरिम आदेशको माग गरेका थिए। तर सर्वोच्च अदालतले पहिलो सुनुवाइमा अन्तरिम आदेश नदिइ मिसिल झिकाउन आदेश गरेको हो । शाक्य आफूलाई हटाएर प्राधिकरणको कार्यकारी निर्देशकमा घिसिङलाई नियुक्त गर्ने सरकारी निर्णयलाई चुनौती दिँदै अदालत पुगेका हुन् ।

शाक्यले आफ्नो नियुक्ति चार वर्षका लागि भएको भन्दै सरकारले बिचमै हटाउन नसक्ने र आफूलाई अन्यत्र पद सिर्जना गरी नियुक्त गर्न नमिल्ने जिकिर रिटमा गरेका थिए ।

साउन २४ गतेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको थियो। साउन २७ मा नियुक्तिपत्र बुझेलगत्तै घिसिङले सोही दिन पदवहाली गरेका थिए। केपी ओली नेतृत्वको पूर्ववर्ती सरकारले २०७७ माघमा शाक्यलाई चार वर्षका लागि प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेको थियो।