बाढीले अवरुद्ध १० मेगावाट क्षमताको ‘तल्लो मोदी- १’ सञ्चालनमा



२८ असार । बाढीले क्षति पु¥याएपछि बन्द रहेको तल्लो मोदी ‘१’ जलविद्युत् आयोजनाको उत्पादन शुरु भएको छ । यही असार २२ गते राति आएको बाढीका कारण ठप्प रहेको आयोजनाको उत्पादन एक सातापछि आइतबार साँझदेखि सञ्चालनमा आएको हो । जिल्लाको कुश्मा नगरपालिका–८ दोबिल्लामा रहेको सुन्दरेखोलामा आएको बाढीले मुहान र झण्डै ३०० मिटर नहरमा क्षति पु¥याएको थियो । सोही दिन मोदीखोलामा आएको बाढीले मुहानमा समेत क्षति पु¥याएको थियो ।

लगातारको प्रयासबाट मर्मत सम्पन्न गरेर आइतबार साँझदेखि उत्पादन शुरु गरिएको युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडका प्रबन्ध निर्देशक उपेन्द्र गौतमले जानकारी दिएका छ । उनका अनुसार सुन्दरेखोलामा आएको बाढीले चार मिटर चौडा र चार मिटर उचाइ रहेको ३०० मिटर नहर पूर्णरूपमा पुरिएको थियो । आयोजनाका कर्मचारी र अन्य कामदार गरी दैनिक ५० जना परिचालन गरी मर्मत गरिएको थियो ।


आइतबार साँझदेखि नौ दशमलव पाँच मेगावाट विद्युत् उत्पादन भएको गौतमले जानकारी दिएका छन् । बाढीका कारण आयोजनामा झण्डै रु साढे चारदेखि पाँच करोडसम्मको क्षति भएको अनुमान गरिएको छ । मोदीखोलाको बहाव उच्च रहेकाले मुहानमा भएको क्षतिको विवरण अझै यकिन हुन नसकेको उहाँको भनाइ छ । आयोजनाको उत्पादन गृहमा भने कुनै क्षति भएको थिएन ।