इंग्ल्याण्ड ५५ वर्षको प्रतिक्षा अन्त्य गर्दै फाइनलमा पुग्यो



असार २४ गते ।  सन् १९६६ को विश्वकप फुटबलको फाइनलमा पश्चिमी जर्मनीलाई हराए यता कुनै पनि प्रमुख फुटबल प्रतियोगिताको फाइनलसम्मको पुग्न नसकेको इंग्ल्याण्डले गएको ५५ वर्षमा पहिलो पटक कुनै प्रमुख प्रतियोगिताको फाइनलसम्मको यात्रा तय गरेको छ ।


गए राति अबेर सम्पन्न यूरो कप फुटबलको दोस्रो सेमीफाइनलमा डेनमार्कलाई हराएर इंग्ल्याण्ड फाइनलमा पुगेको हो । उपाधिका लागि इंग्ल्याण्डले प्रतियोगिताका दाबेदार इटालीको सामना गर्नेछ । डेनमार्क बिरुद्ध १–० ले पछाडि परेको इंग्ल्याण्डले पुनरागमन गोल गर्दै अतिरिक्त समयमा गरेको दोस्रो गोल मार्फत् जित हात पार्न सफल भएकाे हाे ।



पहिलो हाफमा ३० मिनेटपछि मिक्केल डेम्सगार्डले फ्री किकलाई गोलमा परिणत गर्दा पाहुना टोलि डेनमार्कले १–० को अग्रता लिन सफल भयो । तर हाफ टाइम सकिन मात्र छ मिनेट बाँकी छँदा डेनमार्कका कप्तान सिमोन जैरले बुकायो साकाको क्रसलाई आफ्नै गोलपोष्टमा छिराएपछि इंग्ल्याण्डले खेलमा १–१ को बराबरी गर्यो ।

डेनमार्कका गोलकिपर कास्पर सेमैचेलले हयारी मग्वेर र हयारी केनको गोलको प्रयासलाई विफल तुल्याएपछि खेल अतिरिक्त समयमा गएको थियो । १०३ औं मिनेटमा रहीम स्टर्लिङलाई जोकिम महेलले लडाएपछि इंग्ल्याण्डले पेनाल्टीको अबसर पायो ।

उक्त अबसरलाई हयारी केनले गोलमा परिणत गर्दै इंग्ल्याण्डलाई २–१ को अग्रता मात्रै दिलाएनन्, यूरो कप फुटबल २०२० को फाइनलमा पुर्याउँदै इंग्ल्याण्डको ५५ वर्षको प्रतिक्षा समेत समाप्त पारेका हुन् ।

केनले गरेकाे प्रहार सेमैचेलले विफल तुल्याएपनि ‘रिबाउन्ड’ भएको बल केनकै अगाडि आएपछि दोस्रो प्रहारलाई उनले गोलमा परिणत गरे । डेनमार्क भने पेनाल्टी दिइएकोमा सन्तुष्ट देखिएन ।