आजदेखि भेरोसेलको दोस्रो मात्रा खोप लगाइँदै



काठमाडौं- कोराना भाइरस विरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाएकालाई आजबाट दोस्रो मात्रा खोप लगाइने भएको छ।

सरकारले जेठ २५ गतेदेखि २९ गतेसम्म देशभर ६० देखि ६४ वर्ष उमेर समूहका नागारिकलाई भेरोसेलको पहिलो मात्रा खोप लगाएको थियो।

पहिलो मात्रा लगाएका तीन लाख ७० हजार भन्दा बढी नागरिकलाई दोस्रो मात्रा खोप लगाइने तय भएको स्वास्थ्य सेवा विभागको खोप शाखा प्रमुख डा झलक शर्मा गौतमले बताए।

साथै, अघिल्ला खोप अभियानमा भेरोसेल खोपको दोस्रो मात्रा लगाउन छुटेकाले समेत सो अवधिमा दोस्रो डोज लगाउन पाउने उनले जानकारी दिए।

खाेप लगाउनका लागि यसअघि पहिलो मात्रा लगाएको कार्ड अनिवार्य देखाउनुपर्ने बताइएको छ। पछिल्लो पटक ६०–६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकले भेरोसेल खोपको पहिलो मात्रा लगाएका थिए।

खोप अभियान देशभर सञ्चालन हुने छ।

यसैबीच काठमाडौं स्वास्थ्य कार्यालयले जिल्लाका खोप केन्द्रको सूची समेत सार्वजनिक गरेको छ। स्वास्थ्य कार्यालय काठमाडौंले जिल्लाका ३२ स्थानमा खोप केन्द्र तोकेको छ।