अर्घाखाँचीमा साउन १६ गतेदेखि पूर्णकालीन निषेधाज्ञा



१५ साउन । साउन १६ गतेदेखि अर्घाखाँचीमा पूर्णकालीन निषेधाज्ञा हुने भएको छ । कोरोना सङ्क्रमितको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएपछि रोग फैलन नदिन पूर्णकालीन निषेधाज्ञा गर्ने भएको हो । राति १२ बजेबाट लागू हुनेगरी ३० गतेसम्म पूर्ण निषेधाज्ञा जारी गर्ने डीसीसीएमसीको बैठकले निर्णय गरेको छ । कोरोनाको उच्च जोखिम भएकाले कडा निषेधाज्ञा लागू गरिने प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले जानकारी दिएका छन् ।

अत्यावश्यक पसलहरु बिहान ६ देखि ९ बजेसम्म खुल्ने छन् । यातायात, बैंक तथा वित्तीय संस्था पूर्णरूपमा बन्द हुने निर्णय भएको छ । अर्घाखाँचीमा अहिलेसम्म ५४४ जना सक्रिय सङ्क्रमित रहेका छन् । कोभिडका २६ जना बिरामी अर्घाखाँची अस्पतालमा भर्ना भएका छन् । स्वास्थ्य मापदण्ड पालना नहुनुलगायतका कारण कोरोना सङ्क्रमित बढेको अर्घाखाँची अस्पतालका प्रमुख डा कपिल गौतमले बताएका छन् ।


आजभन्दा एक हप्ताअघि ६ जना बिरामी अर्घाखाँची अस्पतालमा भर्ना भएकामा बुधबारसम्म २६ जना कोभिडका बिरामी भर्ना भएको र उपचार भइरहेको डा गौतमको भनाइ छ । अस्पातलमा बिरामी राख्ने समस्यासमेत सिर्जना भएको छ । सरकारले अर्घाखाँचीसहित १७ जिल्लालाई अति उच्च जोखिम क्षेत्रमा राखेको छ ।