२४ असार । स्थानीय बासिन्दाको चौतर्फी विरोध भए पनि खोटाङको त्रिधार्मिक धाम किराँत ऐतिहासिकस्थल हलेसीगढी तथा आसपासका सरकारी वन क्षेत्र मासेर खेलमैदान निर्माणको काम शुरु गरिएको छ । हलेसीगढी तथा आसपासको सरकारी वन क्षेत्रको करिब ५५ रोपनी जमीन मासेर खेलमैदान निर्माण शुरु गरिएसँगै स्थानीय बासिन्दाले असार १८ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएपछि काम रोकिए पनि पुनः शुरु भएको छ । खेलमैदान निर्माणका लागि नेपाल सरकार युवा तथा खेलकूद मन्त्रालयबाट रु ३० लाख बजेट आएपछि हलेसी तुवाचुङ नगरपालिकाको गत वैशाख १९ गते बसेको नगर कार्यपालिकाको बैठकले उक्त क्षेत्रमा खेलमैदान निर्माण गर्ने निर्णय गरेको थियो ।
नगर कार्यपालिकाको बैठकको निर्णयका आधारमा वडा नं ५ दुर्छिमका विक्रम राई अध्यक्ष रहेको खेलमैदान निर्माण उपभोक्ता समिति गठन गरेर उक्त स्थानमा स्काभेटर प्रयोग गरेर खेलमैदान निर्माणको काम थालिएको थियो । दुर्छिमका वडाध्यक्ष रमेश तिवारीको नेतृत्वमा दुर्छिम तालतेम्माका भूपेन्द्र राईलगायतको पटक–पटकको छलफलपछि अहिले स्थानीय बासिन्दालाई अगाडि लगाएर पुनः स्काभेटर प्रयोग गरेर खेलमैदान खन्न थालिएको जनाइएको छ । वडाध्यक्ष तिवारीले भने उक्त खेलमैदान निर्माणको काममा आफू संलग्न नरहेको बताउएका छन् ।
स्थानीयवासी भूपेन्द्र राईले भने अख्तियारमा उजुरीपछि नगरपालिकाको बजेट रोक्का भएको र स्थानीय बासिन्दाले आफ्नै खर्चमा खेल मैदान निर्माण शुरु गरेको बताएका छन् । विवादित क्षेत्रमा अहिले राईलगायतका केही व्यक्ति बसेर स्काभेटरमार्फत खेलमैदान निर्माणको काम धमाधम भइरहेको प्रत्यक्षदर्शीले बताएका छन् । साविक दुर्छिम गाविस–१ कित्ता नं १७ को ५४ रोपनी १४ आना एक पैसा एक दाम क्षेत्रफलको सरकारी वनमा भएको विनाशबारे जिल्लास्थित प्रमुख जिल्ला अधिकारी र डिभिजन वन कार्यालय खोटाङमा पटक–पटक अनुरोध गर्दासमेत बेवास्ता गरिएको स्थानीय बासिन्दा एवं साविक दुर्छिम गाविसका पूर्वअध्यक्ष कुवेरमणि राईले बताएका छन् ।
“डिभिजन वन कार्यालय खोटाङले पनि वन क्षेत्रमा खेल मैदान बनाउने निर्णय रोक्न गत जेठ ३० गते नै पत्राचार गरेको छ”, उनले भने, “डिभिजन वन कार्यालयको पत्रलाई समेत बेवास्ता गर्दै नगरप्रमुखको निर्देशनमा खेलमैदान बनाउने प्रक्रिया पुनः अघि बढाइएको छ । यो तत्काल रोकिनुपर्छ ।” उता प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले भने उक्त हलेसीगढी तथा आसपासमा पर्ने सरकारी वन क्षेत्रमा खेलमैदान निर्माण भइरहेको सम्बन्धीको मुद्दा आफूसँग सम्बन्धित नभएको र अहिलेसम्म कसैबाट पनि लिखित उजुरीसमेत नपरेको बताएका छन् । “ऐतिहासिकस्थल तथा सरकारी वन विनाश भएको कुरा छ”, उनले भने, “डिभिजन वन कार्यालयले समेत अहिलेसम्म कुनै जानकारी दिएको छैन ।
निर्माणको काम भइरहेको छ भन्ने मौखिक जानकारी आएको छ । कसैले रोकिदिनु भन्ने लिखित उजुरी दिएको खण्डमा बल प्रयोग गरेरै भए पनि रोक्छौँ ।” खेलमैदान निर्माणको काम अघि नबढाउन डिभिजन वन कार्यालयको पत्र प्राप्त भएपछि तत्काल रोक्न नगरपालिकाको तर्फबाट निर्माण उपभोक्ता समितिलाई पत्राचार गरिएको नगरप्रमुख राईले बताए । “स्थानीय बासिन्दाले आफूखुशी खेलमैदान निर्माणको काम अघि बढाएको जानकारी आएको छ”, उनले भने, “यसमा नगरपालिकाले गठन गरेको उपभोक्ता समितिको पनि संलग्नता छैन ।” हलेसीगढीमा खेलमैदान निर्माणका लागि नगरपालिकाले गत वर्ष विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरेर खेलकूद मन्त्रालयमा पठाएपछि मन्त्रालयबाट रु ३० लाख बजेट आएको थियो ।
अहिले उक्त ऐतिहासिकस्थल हलेसीगढीको पुरातात्विक अन्वेषण, संरक्षण र विकास गर्न स्थानीयवासी भूपेन्द्र राईको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गरिएको नगरप्रमुख राईले जानकारी दिनुभएको छ । खेलमैदान निर्माण गर्नेक्रममा स्काभेटर प्रयोग गरेर करिब १०० भन्दा बढी रुख काटिएको, ऐतिहासिक हलेसीगढीको पुरातात्विक महत्व हराउने, पर्यटकीय आकर्षण हराउने, वन विनाशले वातावरण प्रदूषण हुने गरी हलेसीगढी तथा आसपासको सरकारी वन फँडानी गरेको भन्दै स्थानीय बासिन्दाले संलग्नलाई कारवाहीको कामसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा गत असार १४ गते उजुरी दिएका थिए । उजुरीमा नगरप्रमुख इवन राई, दुर्छिमका वडाध्यक्ष रमेश तिवारी र खेल मैदान निर्माण उपभोक्ता समिति अध्यक्ष विक्रम राईलाई विपक्षी बनाएर उजुरी दिइएको थियो ।
खेलमैदान बनाउँदा ऐतिहासिक हलेसीगढी ध्वस्त हुने, सरकारी तथा सामुदायिक वनसमेत नष्ट हुने भएकाले उक्त पुरातात्विक महत्वको ठाउँ संरक्षण गर्न अनुरोध गरिएको स्थानीय बासिन्दा एवं शिक्षक इच्छाराम राईले बताएका छन् । यो चण्डीडाँडा रावापानी, बुर्खा, सल्लेनी सामुदायिक वन क्षेत्रसमेत भएकाले अन्यत्र नै खेलमैदान बनाउनुपर्ने स्थानीय बासिन्दाको माग छ । हलेसीगढी हिन्दू, बौद्ध र किराँत धर्मावलम्बीको त्रिधार्मिकधामअन्तर्गत किराँत धर्मावलम्बीको क्षेत्र भएकाले यसको संरक्षण गर्नुपर्ने स्थानीय बासिन्दाको माग छ । हलेसीगढी क्षेत्रमा खेलमैदानको सट्टामा साकेलाथान, तीनचुला र किराँत ज्ञानकेन्द्र बनाइनुपर्ने उनीहरुको भनाइ छ ।
खोटाङको त्रिधार्मिक धाम हलेसी क्षेत्रमै रहे पनि हलेसीगढी ओझेलमै छ । पुष्टि त भइसकेको छैन तर प्रारम्भिक अध्ययनले यो गढी ४०० वर्ष पुरानो मानिएको छ । यहाँ हलेसी क्षेत्रका प्रथम कविला राजा होलैसुङले राज्य सञ्चालन विधि बसालेको तथ्य भेटिन थालेका छन् । कतिपयले हलेसीको नाम पनि तिनै होलैसुङबाट रहन गएको भन्दै आएका छन् ।
हलेसीगढी हलेसी तुवाचुङ नगरपालिका–५, दुर्छिम साल्तेम्मा र कोटगैराको उचाइमा रहेको डाँडामा छ । यसलाई कोटडाँडा, रावाचुङ र चन्डिडाँडा पनि भनिन्छ । होलैसुङको ढुङ्गेप्रतीकबाट पाँच मिनेट उकालो हिँडेपछि हलेसीगढी प्रवेशद्वार आउँछ । होलैसुङका १० भाइ छोरा होमदिमहोँछा, मायाराजाहोँछा, जिताराजाहोँछा, पुरिमहोँछा, बिराजाहोँछा, मुङ्लोहोँछा, फ्लोमोहोँछा, नाम्राहोँछा, सैंदाहोँछा, पातेसुङ्होँछाको सम्मान र सम्झनामा निर्मित चौताराबाट ३५ पाइला अघि बढेपछि हलेसीगढीको भग्नावशेष देखिन्छ । यो मुख्य गढी हो । किरात राजा बस्ने त्यो गोलाकार गढीको जग अझै देख्न सकिन्छ । गढीवरिपरि सुरक्षा खाल्डो (बंकर) खनिएको छ ।
हलेसीगढीबाट २० पाइलाजति हिँडेपछि सैनिक मञ्च पुगिन्छ, जहाँ परेड खेल्न मिल्ने चौर छ । त्यहाँबाट ५० पाइला हिँडेपछि भीमसेनथान पुगिन्छ । यहाँ रहेको भीमसेनथान पृथ्वीनारायण शाहका सेनाले दोलखाबाट ल्याएका थिए भनिन्छ । भीमसेनथानबाट ६५ पाइलाजति अघि बढेपछि होलैसुङका चार भाइ होमदिमहोँछा, मायाराजाहोँछा, जिताराजाहोँछा र पुरिमहोँछाले राजा हुनका लागि लगातार तीन दिन लाप्पा जुधेको ठाउँ आउँछ । स्थाीय मिथकअनुसार होलैसुङको निधनपछि उत्तराधिकारी चयन गर्न सकस प¥यो । अन्त्यमा लाप्पा खेल्दा जसले जित्छ, उही उत्तराधिकारी बन्ने भद्र सहमति भएको थियो रे ।
चार भाइले लाप्पा जुधेकोभन्दा लगभग आधा किलोमिटर पैदल दूरीमा सहायक गढी रहेको छ । जहाँ मन्त्री र नियमित सेनाले आश्रय लिन्थे । गोलाकार रहेको सहायक गढीको ढुङ्गाको जग छँदै छ । सहायक गढीको आडैमा दक्षिणपट्टि देवीथान निर्माण गरिएको छ । सहायक गढीबाट आधा किलोमिटर दूरीमा रहेको डाँडामा समेत होमदिमहोँछा, मायाराजाहोँछा, जिताराजाहोँछा र पुरिमहोँछाले लाप्पा जुधेका थिए । उनीहरूले यहाँ लगातार चार दिन लाप्पा जुधेका थिए रे । सात दिन लाप्पा जुध्दा जिताराजाहोँछाले बाजी मारे । जिताराजाहोँछाको शेषपछि मखमलहोँछा उत्तराधिकारी छानिए । मखमलहोँछापछि भ्वाँरामहोँछाले गढी सम्हाले ।
भ्वाँरामहोँछाले राजकाज सम्हालेको समयमा पृथ्वीनारायण शाहका सेनाले हलेसीगढीमा आक्रमण गरेका थिए । यो संवत् १८३० भदौको कुरा हो । १८३० फागुन १५ गते अभिमानसिंह बस्न्यात र पारथ भण्डारीले खोटाङ खार्पाका हरिनन्द पोखरेललाई लेखेको पत्रमा ‘हलेसिमा भोदौ महिनामा फौजलाई षर्च’ बाँडेको उल्लेख भएको हुँदा हलेसीगढीमा १८३० भदौमा पृथ्वीनारायण शाहका सेनाले आक्रमण गरेको पुष्टि हुन्छ ।
राजा होलैसुङ विजयपुरको सेन राज्यतर्फबाट मकवानपुर राज्यविरुद्ध संवत् १७२८ र १७२९ मा दुई युद्धमा सामेल भएका थिए । युद्धबाट सकुशल घर फर्के पनि छिमेकी च्यास्मीगढीका राजा पल्माखुङसँगको युद्धमा मारिए । होलैसुङको निधनपछि खिम्लेमा रहेको दरबार अहिले हलेसीगढी रहेको रावाचुङ (कोटडाँडा)मा सारिएको थियो । सुरक्षाका लागि सारिएको दरबार र हलेसीगढी पृथ्वीनारायण शाहका सेनासँगको युद्धमा क्षत–विक्षत भयो । दरबार र गढीको भग्नावशेष छँदै छ । युद्धमा रगतको खोलो बगेको थियो । हलेसी तुवाचुङ नगरपालिका–५, साल्तेम्मानिवासी हर्कराज राईले जानकारी गराए, ‘युद्धमा बगेको किरात राईहरूको रगतले खोल्सो बनेको पुर्खाहरूले हामीलाई सुनाएका थिए ।’
‘२०३३÷०३४ सालमा गोठाला जाँदा दरबार र गढीको भग्नावशेष प्रस्टै देखिन्थ्यो । औषधि हुन्छ भनेर भनिएपछि गोठालामा धेरैपटक मट्याङ्ग्रा खोज्यौँ । तर, पाएनौँ,’ हलेसी तुवाचुङ नगरपालिका–५, डाँडाटोलनिवासी भूपेन्द्रकुमार राईले विगत सम्झे, ‘हलेसीगढीको सय मिटर तल पूर्वपट्टि ढुङ्गाको कापमा भाँचिएको तरवार पनि देखेको थिएँ ।’ मुन्दुम अध्येयता भोगीराज चाम्लिङले समेत त्यही ढुङ्गाको कापमा आफूले पनि तरवार देखेको सुनाए । यो संवत् ०४६ को कुरा हो । ‘२९ वर्षपछि पुग्दा त्यहाँ तरवार रहेनछ,’ मुन्दुम अध्येयता चाम्लिङले थकथक माने, ‘म ०७५ सालमा त्यही ठाउँ पुग्दा तरवार देखिएन ।’ चन्डिडाँडा सामुदायिक वनमा रहेका मुख्य र सहायक गढीका भग्नावशेषमात्रै देखिन्छन् । संवत् ०४२ मा वृक्षारोपण गरिएपछि गढीका भग्नावशेषसमेत पुरिँदै गएको चन्डिडाँडा सामुदायिक वन अध्यक्ष राईले जानकारी गराए ।
एकताका हलेसीगढीआसपास समाधिस्थलमात्रै थिए । पहिले–पहिले साल्तेम्मा र कोटगैरावासीको निधन हुँदा गढीआसपास सद्गत गरिन्थ्यो । संस्कृतिकर्मी तथा स्थानीय राजनीतिकर्मी मविन्द्र राईको भनाइ छ, ‘समाधिस्थल बनाउन गढी तथा जीर्ण अवस्थामा रहेको दरबारको ढुङ्गा प्रयोग गरियो । त्यसो गर्नेक्रम बढेपछि बिस्तारै गढी र दरबारको ढुङ्गेजगसमेत प्रस्ट देखिन छाड्यो । त्यसअघि दरबारको ढुङ्गाको गारो अलि माथिसम्म देखिन्थ्यो ।’ संवत् ०६४ मा स्थानीय भुवानीप्रसाद राईको नेतृत्वमा बनेको सर्वदलीय किरात ऐतिहासिक स्थल संरक्षण समितिले हलेसीगढीको संरक्षण र सम्बद्र्धनार्थ गरेको योगदान स्थानीयले बिर्सेका छैनन् । हलेसीगढी आइपुगेकालाई जानकारी लिन सजिलो होस् भनेर अहिले होलैसुङ समूहले होलैसुङ चौतारा, हलेसीगढी दरबार, हलेसीगढी सानो दरबार, भीमसेनथान, सैनिक मञ्चलगायतको ‘नेमप्लेट’ राखेको छ । गढी उत्खननका लागि समूहले पहल गर्दै आएको छ । ‘उत्खनन गरिदिनुप¥यो’ भन्दै होलैसुङ समूह पुरातŒव विभागसम्म धाउन छाडेको छैन ।
हलेसीगढी असुरक्षित अवस्थामा पनि सुरक्षित रहेकोमा स्थानीय गौरवान्वित छन् । पृथ्वीनारायण शाहले लेखेको पत्रमा हलेसीगढी प्राथमिकतामा परेको छ । ‘हलेसी स्थानीय सत्ताकेन्द्र, तत्कालीन माझकिरातको राजनीतिक तथा प्रतिरोधको ऐतिहासिक नेतृत्व गर्ने थलो पनि हो । त्यतिबेला खोटाङभरिका प्रशासक चतमे राय थिए,’ मुन्दुम अध्येयता चाम्लिङले जिकिर गरे, ‘पृथ्वीनारायण शाहका सेनाविरुद्ध खोटाङमा चतमे रायको नेतृत्वमा युद्ध लडिएको थियो । उनी होलैसुङका सन्तान थिए ।’ भन्न त चमते रायलाई रावाखोलातिरका भन्ने गरिन्छ । तर, होइन । उनी हलेसीकै हुन् । हलेसीबाट गएका चतमेका सन्तान विहार (भारत)मा छन् । उनकै सन्तान, दरसन्तानले ‘हामी हलेसीका चतमे चाम्लिङ राईका सन्तान हौँ’ भनेपछि त्योभन्दा बलियो प्रमाण अरू
के चाहिएला ?
‘पृथ्वीनारायण शाहले लेखेको पत्रमा रावाका चतमे राय उल्लेख छ । त्यसो किन भनियो ? त्यसो भन्नुका कारण त्यतिबेला उदयपुर जिल्लाको चौदण्डीमा गढी बनाएर शासन गर्ने सेन राजाहरूले खोटाङका लागि प्रशासनिक केन्द्र रावामा स्थापना गरेका थिए,’ उनले प्रस्ट्याए, ‘त्यसकारण सेन राजाहरूद्वारा खोटाङका लागि प्रशासक नियुक्त भएका चतमे चाम्लिङ रावामा बसेर प्रशासन सञ्चालन गर्थे । युद्धक्रममा आइपुगेका पृथ्वीनारायण शाहका सेनापतिहरूले चतमे कुन गाउँका हुन् भन्नेभन्दा पनि चतमे कहाँका शासक भनेरमात्रै हेरे । त्यस अर्थमा चतमे रायलाई रावाको भनियो ।’ पहिले होलैसुुुङको दरबार क्षेत्रआसपासलाई हलेसी भनिने मुन्दुम अध्येयता भोगीराज चाम्लिङको आलेखले प्रस्ट्याउँछ । ‘नयाँ हलेसी र पुरानो हलेसी’ आलेखमा चाम्लिङ लेख्छन्, ‘पुरानो हलेसी भनेर साबिक दुर्छिम गाउँ विकास समितिको वडा नम्बर १, ३ र ४ को ठाडो डाँडैडाँडाका गाउँलाई भनिन्थ्यो । त्यो नै होलैसुङको शासनको केन्द्र थियो । हिजोआजसमेत नयाँ र पुरानो हलेसीलाई उनीहरूको स्वत्वसहित चिनाउनु ऐतिहासिक दायित्व हुनेछ ।’
हिजोआज हलेसी गुफा र आसपासका क्षेत्रलाई हलेसी भनेर बुझिन्छ । ४० वर्षअघिसम्म हलेसी गुफालाई महादेउथान भनेर पुकारिने हलेसी तुवाचुङ नगरपालिका–७, तल्लो कात्तिकेनिवासी जितराज राईले बताउँदै आएका छन् । त्यसताका अहिले हलेसी गुफा भनिने क्षेत्रतिर जाँदा ‘पाटी हिँडेको, मादेउथान हिँडेको, खोक्चिलिपा बुक्टो (गुफा) हिँडेको’ भन्नेहरू जीवितै छन् ।