आयोजनाको विद्युत् गृह पुरिएको, भए भरको निर्माण सामग्री बगाएको, मुहान संरचनामा क्षति पुगेको र प्रारम्भिक अनुमान अनुसार एक अर्ब रुपैयाँभन्दा बढी क्षति भएको सुपर मादी हाइड्रोपावर लिमिटेडका अध्यक्ष पुष्पज्योति ढुंगानाले बताए । विद्युत्गृहमा शत प्रतिशत क्षति पुगेको छ, . जमिनभन्दा १० मिटर तल रहेको विद्युत्गृह सबै पुरिएको छ । उक्त विद्युत् गृह जमिनको सतहमा आउनै लागेको थियो । अध्यक्ष ढुंगानाका अनुसार आयोजनाको इलेक्ट्रो–मेकानिकल (इएम) का ओभरहेड क्रेन, साइडल केसहरु लगायतका सबै सामानहरु बाढीले बगाएको छ । दुईवटा ब्याचिङ प्लान्ट, क्रसर, निर्माण सामग्री, डण्डी, सिमेन्ट, गिटी, बालुवा गरी ३० करोड रुपैयाँभन्दा बढीको क्षति भएको ढुंगानाले बताए ।
सिभिल ठेकेदारको २५ देखि ३० करोड रुपैयाँसम्मका विभिन्न यन्त्र उपकरणहरु बगाएको छ । यसअन्तर्गत ब्याचिङ प्लान्ट, क्रसर, एक्सक्याभेटर, ह्विल लोडेर र ट्रिपरहरु बगेका छन् । आयोजनाको सिभिलतर्फ ८० प्रतिशत काम पूरा भइसकेको थियो । त्यसैगरी हाइड्रो–मेकानिकलतर्फको ठेकेदारका पेनस्टक पाइप, रेडियल गेटहरु बाढीले बगाएको छ । यसै वर्ष बिजुली बाल्ने गरी धमाधम प्रसारण लाइनका काम पनि भइरहेका थिए । टावर गाड्नका लागि तयार पारिएका सबै सामान पनि बाढीले बगाएको छ ।
यता मुहानतर्फ हिजो मंगलबारसम्म २० करोड रुपैयाँभन्दा बढीको क्षति भएको आकलन गरिएको अध्यक्ष ढुंगानाले बताए । हेडवक्र्समा राखिएका गिटी, बालुवा, सिमेन्ट, रड सबै बगाए । ‘हाम्रो नियन्त्रणमा थिएन, हामी मान्छेको ज्यानलाई सुरक्षित गर्नेतिर लाग्यौं,’ अध्यक्षले बताए ।
त्यसैगरी विद्युत्गृह र हेडवक्र्सको लेबर क्याम्प पूरै बगाएको छ । हेडवक्र्स क्याम्पमा २५० जना मजदुर बस्थे भने विद्युतगृहमा सय जना । उनीहरुमध्ये एक सय पचासजनालाई आयोजनाकै तलतिरको क्याम्पमा सुरक्षित राखिएको र सय जना मजदुरलाई आयोजनास्थल नजिकको एक विद्यालयमा सारिएको ढुंगानाले बताए ।साढे सात अर्ब रुपैयाँ लागत रहेको सुपर मादीमा साढे पाँच अर्ब रुपैयाँ खर्च भइसकेको अध्यक्ष ढुंगानाले बताए ।