वैदशिक रोजगार: स्थानीय सरकारमार्फत पीडितको खातामै सहायता रकम



परासी । वैदशिक रोजगार बोर्डले दिने आर्थिक सहायता सिधै पीडितको बैंक खातामा आउन थालेको छ । बोर्डले वैदेशिक रोजगारीका क्रममा मृत्यु भएकाका आफन्त वा अङ्गभङ्ग भएकालाई क्षतिपूर्ति रकम सिधै पीडितको खातामा पठाउन थालेपछि सेवाग्राहीलाई सहज भएको छ । यसअघि पीडित कामदारले आर्थिक सहायता प्राप्त गर्न काठमाडौँ जानुपर्ने बाध्यता थियो ।

काठमाडौँ जाँदा सेवाग्राहीले भोग्नुपर्ने झन्झटलाई मध्यनजर गर्दै अहिले सरकारले स्थानीय सरकारमार्फत पीडितको खातामै आर्थिक सहायता रकम पठाउने व्यवस्था गरेपछि सहज भएको सुरक्षित आप्रवासन परियोजना (सामी) नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)का संयोजक ज्ञानेश्वर भण्डारीले जानकारी दिए ।


सरकारले नयाँ व्यवस्था लागू गरेपछि चालु आवमा जिल्लाबाट १२ सेवाग्राहीले स्थानीय सरकारमार्फत आर्थिक सहायता रकम सिधै आफ्नो खातामा प्राप्त गरेको भण्डारीले बताए । वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका नौ र बिरामी अङ्गभङ्ग भएका तीन जनाले गरी यसवर्ष रु एक करोड ९२ लाख सहायता प्राप्त गरेका हुन् ।

बोर्डले कामदारका आफन्तलाई प्रतिव्यक्ति रु सात लाख आर्थिक सहायता दिन्छ । बीमा कम्पनीले रु १४ लाखसम्म दिने व्यवस्था छ । श्रम स्वीकृतिको समयावधि भएका व्यक्तिका आफन्तले मात्रै आर्थिक सहायता पाउने गरेका छन् । आर्थिक सहायताका लागि पीडित सेवाग्राहीलाई परासीमा रहेको सुरक्षित आप्रवासन परियोजनाले सहजीकरण गर्ने गरेको छ ।

स्थानीय तहले आवश्यक कागजातसहित प्रमाणित गरेर पठाएपछि बोर्डले सिधै पीडितको खातामा रकम निकासा गर्न थालेकाले काठमाडौँ जानुपर्ने बाध्यता हट्दै गएको परियोजनाले जनाएको छ । “पीडित कामदारको हितका लागि सरकारले दिने आर्थिक सहायता लिन काठमाडौँ जाँदा त्यहाँ बस्ने खाने खर्च, आवतजावत तथा अन्य झन्झट बेहोर्नुपरेकाले सरकारले आफ्नै स्थानीय तहबाट रकम पाउने व्यवस्था गरेपछि पीडितलाई सहज भएको छ”, भण्डारीले भने ।