पार्टी सभापतिको उमेदवारीमा देउवाको नयाँ रेकर्ड

मनिता घिमिरे
आगामी भदौको समेत जोड्दा नेपाली कांग्रेसले १४ वटा महाधिबशेन सम्पन्न गर्दैछ । यी १४ मध्ये ५ वटा महाधिबशेनमा सभापतिको उमेदार बनेर नयाँ रहेकर्ड कायम राख्ने अभिायनमा शेरबहादुर देउवा रहेको अनुमान धेरैले गरेका छन् ।

विगत २१ वर्षदेखि चार वटा महाधिवेशनमा लगातार चुनाव लड्दै आउनुभएका सभापति शेरबहादुर देउवा पाँचौँपटक पनि चुनावी मैदानमा ओर्लनुभएको छ । उहाँ पहिलोपटक सभापति लड्दै गर्दा गर्भमा समेत नआएकाहरू आगामी महाधिवेशनमा उल्लेख्य रूपमा प्रतिनिधि बनेर आउँदैछन् । उनीहरूको दिमागमा पार्टीको आन्तरिक लोकतन्त्रबारे कस्तो धारणा बन्ला ? भन्ने प्रश्न पनि नेपाली कांग्रेसको जीवनमा निकै पेचिलो छ । आफू बाँचुन्जेल सत्ता र शक्ति बाहिर रहन नसक्ने सोच, चिन्तन र व्यवहार बोकेको नेताले पार्टी भित्रको आन्तरिक लोकतन्त्र जोगाउन सक्छ कि सक्दैन ? आफ्नो पार्टी भित्रको आन्तरिक लोकतन्त्र ध्वस्त बनाएको नेताले देशको नेतृत्व गर्ने मौका पायो भने लोकतान्त्रिक शासन व्यवस्था रहन सक्छ कि सक्दैन ? भन्ने मूल्यांकन गर्न सक्ने अवस्थामा जनता पुगिसकेका छन् । कुनै व्यक्ति लोकतान्त्रिक प्रणालीअनुसार निर्वाचित भएर आजीवन सभापति पदमा रहिरहनु आश्चर्यजनक कुरा होइन । व्यक्तिवादी चिन्तन बोकेकाहरू यो मामिलामा सफल भएका उदाहरण पनि छन् । तर व्यक्तिवादी चिन्तनलाई निरन्तर अनुमोदन गरिरहेको पार्टीलाई आमनिर्वाचनमा मत हाल्न जनता सधैं वाध्य हुँदैनन् । आमनिर्वाचनमा त जनताले भोट हाल्ने अरू विकल्प नि पाउँछन् ।

महाधिवेशन प्रतिनिधिहरू पार्टीको सभापति बन्न विधानतः योग्य हुन्छन् र उम्मेदवारी दिने हैसियत र अधिकार राख्छन् । चारपटक लगातार उम्मेदवार भएको व्यक्ति पाँचौँपटक उम्मेदवार बन्न नपाउने वाध्यता कांग्रेसको विधान र मुलुकको संविधानमा छैन । यो अर्थमा देउवाको पुनः सभापतिको उम्मेदवारी अस्वभाविक देखिँदैन । तर, राजतन्त्रको अन्त्य भई संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको हालको नेपालको सन्दर्भमा देउवाको पुनः उम्मेदवारी कति उपयुक्त हुन सक्छ बहसकै विषय हो । लोकतान्त्रिक प्रणाली रहने वा नरहने भन्ने कुरो लोकतान्त्रिक विचार, नीति र विधि पार्टीको सिद्धान्त मान्ने पार्टी र यसका नेताहरूले अवलम्बन गर्नैपर्छ ।

कसले जित्छ ? कसले हार्छ ? भन्नेभन्दा पनि नेपाली कांग्रेस पार्टीभित्र सक्कली लोकतन्त्रको परिपाटी सजीव रहन सक्छ वा सक्दैन भनेर सबैमा चिन्ता र चासो जागेको छ । चिन्ता यस मानेमा कि प्रजातान्त्रिक परिपाटी जीवितै रहला वा नेताहरूको गुटगत लडाइँले खिइँदै र सकिँदै जाला भन्ने अर्थमा देखिएको छ । चासो यस अर्थमा कि कम्तीमा पनि नेपालको लोकतान्त्रिक प्रक्रिया सजीव बनाउन पार्टी आन्तरिक जीवनमा लोकतान्त्रिक अभ्यास गर्ने पार्टी नेपाली कांग्रेस नै थियो । त्यसैले, कांग्रेसको आन्तरिक लोकतन्त्र सुदृढ हुँदै जाओस् जसले देशमा चलिरहेको शासन व्यवस्थामा थप मद्दत पु¥याओस् र अन्य पार्टीलाई पहिलो गतिलो शिक्षा दिन सकोस् भन्ने आशय सबैको छ । त्यसैले नेपाली कांग्रेसलाई मुलुकको राजनीतिको मियो पार्टी भनिएको हो । हरेक देशको शासन व्यवस्था कति सुदृढ हुन सक्छ । कति सजीव हुन सक्छ र त्यसलाई सही ढंगले अघि बढाउन सकिन्छ वा सकिँदैन भन्ने कुरा देशभित्र रहेका शासन व्यवस्थासँग सम्बन्धित विचार, नीति, विधि र आचरण पालन गर्ने पार्टीहरूमा निर्भर रहन्छ । यसैले लोकतान्त्रिक संस्कार बोकेर आएको पार्टी भएकाले पनि अन्य पार्टीभन्दा नेपाली कांग्रेसमाथि सबैको आशा, भरोसा र गुनासो केन्द्रित हुन गएको छ ।

लोकतान्त्रिक प्रणाली प्रतिस्पर्धात्मक प्रणाली हो । यसमा व्यक्तिहरू समान रूपले राजनीतिक क्रियाकलापमा भाग लिन पाउँछन् । एकअर्कामा प्रतिस्पर्धा गर्न पाउँछन् । जसले बहुमत प्राप्त गर्छ उसलाई आउँदो एक अवधिका लागि आफ्नो नेतृत्वका रूपमा स्वीकार गर्छन् । त्यसपछि प्रणालीगत हिसाबले पार्टी तथा शासन व्यवस्था सञ्चालनका लागि परिचालित हुने गर्छन् । तर, एउटै व्यक्ति सदासदाका लागि पार्टी वा शासन व्यवस्थाको हर्ताकर्ता भइराख्ने हो भने आउँदो पुस्ताले कुनबेला लोकतान्त्रिक अभ्यासमा भाग लिने, खारिने र आफूलाई नयाँ नेतृत्वका रूपमा परिपक्व बनाउने ?

विगत ७५ वर्षदेखि मलुकको बहुदलीय राजनीतिको मियो पार्टीको भूमिकामा रहँदै आएको नेपाली कांग्रेस स्वयंले आन्तरिक लोकतन्त्र बिर्सनु भनेको सामान्य कुरा होइन । संवैधानिक बाध्यता नभएको भए नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा कैयौँ वर्षसम्म महाधिवेशन नै नगराई आफ्नो पदलाई निरन्तरता दिइरहने बाटोमा जाने रहेछन् भन्ने कुरा घटनाक्रमले प्ुष्टि गरिसकेको छ । भदौको तेस्रो साता महाधिवेशन हुने निश्चित भएसँगै देउवाले फेरी सभापतिको उम्मेदवार बन्ने भन्दै भेटघाट तीव्र बनाएका छन् । क्रियाशील सदस्यता टुंग्याउन बाँकी छ, क्रियाशील सदस्यता नटुंगिएसम्म महाधिवेशनको पूर्वतयारीका काम अघि बढ्न सक्ने अवस्था छैन । जिल्ला अधिवेशनसँगै महाधिवेशन प्रतिनिधिहरूको टुंगो लाग्ने हो ।

महाधिवेशन प्रतिनिधिहरूको टुंगो नलाग्दासम्म सभापति पदको उम्मेदवारी घोषणा तथा प्रचारप्रसार शोभनीय हुँदैन । तर, महाधिवेशन सम्पन्न गराउने दायित्व बोकेका सभापति देउवा स्वयं सबैभन्दा पहिले उम्मेदवारी घोषणा गरेर प्रचारप्रसारमा जुट्नु नेपाली कांग्रेसका लागि अवसर होइन दशा हो । महाधिवेशनको निष्पक्षतामाथि प्रश्न उठ्ने गतिविधिमा सभापति देउवा स्वयं उत्रनु दुःखद् हो ।

राजनीतिक पार्टीको मुख्य उद्देश्य भनेको आफ्नो पक्षमा जनविश्वास सिर्जना गर्नु हो । पार्टीले अंगालेको विचार र सिद्धान्तबाहेक जनताले मुख्यतया तीन वटा आधारमा राजनीतिक पार्टीहरूलाई विश्वास गर्छन् । पहिलो आधार भनेको पार्टीको निर्णय प्रक्रियामा आफ्नो सहभागिता हो । दोस्रो आधार पार्टी तथा पार्टीका नेताहरूले देश र जनताको पक्षमा पु¥याएको योगदान हो । तेस्रो आधार पार्टी नेतृत्वको कार्यक्षमता र इमानदारी हो । यी तीनै वटा आधारहरू अन्य पार्टीको तुलनामा बलिया रहेका कारण नेपाली कांग्रेस स्थापनाकालदेखि अहिलेसम्म मुलुकको राजनीतिमा मियो पार्टीका रूपमा रहँदै आएको हो । तर, नेपाली कांग्रेसले जनविश्वास प्राप्त गर्नुका मुुख्य आधारहरू पछिल्ला दिनमा सभापति देउवाले भत्काउँदै गएका छन् ।

उनी पहिलोपटक प्रधानमन्त्री हुँदा गर्भमा रहेको बालक अहिले २६ वर्ष नाघिसकेको छ । २६ वर्षको यो अवधिमा चारपटक प्रधानमन्त्री भइसकेका देउवाको कार्यक्षमता र इमानदारीमाथि पटकपटक प्रश्न उठिरहेको छ । ०५७ साल यताको २१ वर्षको अवधिमा कांग्रेसका चार वटा महाधिवेशन सम्पन्न भइसकेका छन् । कुनै पनि महाधिवेशनमा देउवा सभापति पदको उम्मेदवार बन्न छुटाएका छैनन् । अब फेरी पाँचौँपटकका लागि उम्मेदवार बन्न लागेका छन् । दशकौँदेखि सधँै एउटै अनुहारप्रति जनताको अकर्षण रहँदैन, अवसर पाउँदा राम्रो काम गरेको भए त ठिकै थियो । अवसर पाउनासाथ दुरुपयोगबाहेक केही नगरेको नजीर कायम गरेका देउवा फेरी पनि सभापति बने भने जनताले कुन आशाका साथ कांग्रेसलाई भोट दिने ? भन्ने प्रश्न खडा हुन्छ । यो यथार्थतातर्फ कांग्रेसका कार्यकर्ताहरूले ध्यान दिनुपर्छ । कम्युनिस्टहरू विभाजित भएका कारण जनता विकल्पविहीन छन् भन्दैमा ‘खाए खा, नखाए घिच’ भन्न थाल्ने हो भने भोलि बहुदलीय व्यवस्थाप्रति नै जनविश्वास समाप्त हुन्छ ।

नेपाली कांग्रेसले विगत ७५ वर्षदेखि निरन्तर जनताको विश्वास र अन्तर्राष्ट्रिय जगतको साख आर्जन गरेको यतिकै होइन । अग्रजहरूको त्याग, बलिदानीपूर्ण संघर्ष, कार्यकर्ताको उत्प्रेरणा र निरन्तरको गतिशीलताका कारण नेपाली कांग्रेसले जनविश्वास र जनताको साख आर्जन गरेको हो । विगतमा नेपाली कांग्रेस कतिसम्म गतिशील थियो भने स्थापनाकाल देखिको ०१४ सालसम्मको अवधिमा नेपाली कांग्रेसले महाधिवेशन मात्रै सातपटक सम्पन्न गरेको देखिन्छ । राष्ट्रिय सम्मेलन तथा भेला त कति हो कति । ०४६ सालमा बहुदलीय व्यवस्था पुनस्र्थापना पछिको अवस्थालाई हेर्ने हो भने पनि सुरुका दिनमा नेपाली कांग्रेसले आफ्नो गतिशीलतालाई कायमै राखेको देखिन्छ । किनकी ०४८ सालदेखि ०५७ सालसम्मको १० वर्षको अवधिमा नेपाली कांग्रेसले तीन वटा महाधिवेशन सम्पन्न गरेको देखिन्छ । चार वटा राष्ट्रिय भेला सम्पन्न गरेको देखिन्छ । पाँचपटक महासमितिको बैठक गरेको देखिन्छ ।

अब पछिल्ला पाँच वर्षको अवस्था हेरौँ । विधानअनुसार नेपाली कांग्रेसको महाधिवेशन चार वर्षको अन्तरालमा गर्नुपर्छ । महासमितिको बैठक हरेक वर्ष गर्नुपर्छ । तर, ०७२ साल फागुनमा १३औँ महाधिवेशन सम्पन्न भए यता एकपटक मात्रै महासमितिको बैठक बसेको छ । चार वर्षमा हुनु्पर्ने महाधिवेशन साढे पाँच वर्ष बित्न लाग्दा पनि अझै सुनिश्चित हुन सकेको छैन । पार्टीको दर्ता नै खारेज हुने अवस्था आएपछि, चुनाव चिन्ह रुख नै फ्रिज हुने अवस्था आएपछि बल्लतल्ल आगामी १६ देखि १९ भदौसम्म १४औँ महाधिवेशन गर्ने भनिएको छ । तर मुलुकको विषम परिस्थितिका कारण महाधिवेशनका सबै प्रक्रिया पूरा गर्न सकिने अवस्था छैन । निर्वाचन आयोगमा कागजपत्र पेस गर्नका लागि आन्तरिक निर्वाचन सम्पन्न भएको कर्मकाण्ड पूरा गर्नुबाहेक १४आँै महाधिवेशनले अन्य उपलव्धी दिने अवस्था छैन ।