सिन्धुपाल्चोक बाढी: मेलम्ची आयोजनाबाट काठमाण्डू उपत्यकामा भइरहेको खानेपानी आपूर्तिमा कस्तो असर पर्छ?



गत साता बाढीले क्षति पुर्‍याएको मेलम्ची खानेपानी आयोजनाका पूर्वाधारहरूको मर्मतका लागि पुल र सडक अनिवार्य रहेको भन्दै अधिकारीहरूले अब बर्खा यामपछि मात्रै वैकल्पिक विधि अपनाएर मेलम्चीको पानी काठमाण्डूमा झार्न सकिने बताएका छन्।

आवश्यक निर्माणका कार्यहरू पूरा भएको भन्दै गएको फाल्गुन १० गतेबाट मेलम्ची नदीको पानीलाई अस्थायी बाँध बनाएर काठमाण्डूमा ल्याइएको थियो।


तर गत मङ्गलवार बिहान प्राविधिक निरीक्षणका लागि सुरुङ बन्द गरी सुन्दरीजलबाट पानी खाली गर्न थालिएको थियो।

त्यही दिन सिन्धुपाल्चोकमा आएको बाढीले अम्बाथानस्थित ‘हेडवर्क्स’ भनिने व्यवस्थित पानी पसाउन बनाइएको संरचनावरपर क्षति पुर्‍याएको छ।

बाढीमा बेपत्ता भएका सात जनामध्ये चार जनाको शव भेटिएको बताइएको छ।

मेलम्ची आयोजनामा कति क्षति पुग्यो

मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तका अनुसार ‘हेडवर्क्स’ मा बाढी पसेकाले त्यहाँ भएका अस्थायी संरचनाहरू सबै बगेका छन्।

उनले भने, “स्थलगत अवलोकनका लागि जान सकिएको छैन किनभने सबै सडक र पुल बगाएको छ। हेलिकप्टर र ड्रोनको मद्दतले माथिबाट हेर्दा हेडवर्क्सको संरचना आफ्नै ठाउँमा पानीमुनि डुबेको अवस्थामा छ।”

“बायाँपट्टिको रिटेनिङ पर्खाल देखिँदैन। निर्माण व्यवसायी र श्रमिकका शिविर र सामान राख्ने ठाउँ सबै बगाएको छ।”

मेलम्ची
तस्बिरको क्याप्शन,फाइल तस्बिर

उनले हेडवर्क्स अझै डुबिरहेकाले त्यसमा कति क्षति भयो र त्यसको निर्माणका लागि कति समय र स्रोत आवश्यक पर्छ भन्न नसकिने बताए।

मेलम्ची बजारबाट २१ किलोमिटर पर रहेको उक्त संरचना पुग्न पार गर्नुपर्ने चारवटा पुल र लगभग आधा सडक बाढीले बगाएको उनले जानकारी दिए।

स्थलगत भ्रमणमा जान नसकिएकाले अहिले क्षतिको प्रारम्भिक अनुमान मात्रै गर्न सकिएको पन्तले बताए।

दुई दशक समय र ३५ अर्ब रुपैयाँ खर्च गरिएको मेलम्ची खानेपानी आयोजनाको निर्माण कार्य लगभग सम्पन्न हुन लाग्दा उक्त राष्ट्रिय गौरवको आयोजना प्राकृतिक विपद्को मारमा परेको हो।

केही महिनादेखि आयोजनाले सुरुङको परीक्षण गर्ने क्रममा काठमाण्डूमा पानी वितरण गरिरहेको थियो।

परीक्षण सम्पन्न गर्ने क्रममा सुरुङलाई बन्द गरेर भित्रको पानीलाई सुन्दरीजलबाट बाहिर फ्याँल्ने र प्राविधिक निरीक्षण गरेर निर्माण कार्यलाई पूर्णता दिने कार्यतालिका बनाइएको थियो।

Map: Melamchi

क्षतिको प्रभाव कस्तो पर्छ

दुई महिनामा सम्पन्न हुने भनिएको उक्त कार्यतालिका असारको बाढीसँगै प्रभावित भएको प्रवक्ता पन्तले बताए।

उनले भने, “अम्बाथानको सुरुङ पनि बालुवाले भरिएको छ र वैकल्पिक पथान्तरण प्रणालीअन्तर्गतको सुरुङ पनि बालुवाले भरिएको छ। अब हाम्रो कार्य तालिकाबमोजिम यी दुई सुरुङलाई सफा गरेर हामीले बर्खा यामपछि मात्रै काठमाण्डू उपत्यकामा पानी नियमित गर्ने अवस्था हुन्छ।”

पन्तले थपे, “सुरुङ परीक्षण गर्दासम्म हामीले हेडवर्क्समा पनि जडानको काम सक्छौँ र स्थायी संरचनाबाटै काठमाण्डूमा पानी पठाउँछौँ भन्ने सोचेका थियौँ। त्यो अब प्रभावित भयो।”

“तर काठमाण्डू उपत्यकामा वैकल्पिक रूपमा हामीले पानी दिन सक्ने अवस्था हुन्छ। त्यसका लागि हेडवर्क्स डाइभर्शन टनेल जुन बालुवाले भरिएको छ त्यो सफा गर्नुपर्छ।”

यथाशीघ्र क्षति भएको बाटो मर्मत गरी त्यसमा बेलीब्रिजहरू राखेर हेडवर्क्स स्थलसम्म पुग्ने प्रयास गरिरहेको र त्यसका लागि नेपाली सेनाको समेत मद्दत मागिएको उनले बताए।

मेलम्चीको बाढी

“अहिले सबैभन्दा आवश्यक भनेको हेडवर्क्स क्षेत्रमा पुग्नु नै हो। त्यसका लागि प्रवेश मार्ग र पुलहरूको निर्माणको काम हो। यसका लागि हामी नेपाली सेना र सडक विभागसहितका सङ्घसंस्थाको सहयोग लिएर अघि बढ्ने प्रयास हामीले अघि बढाइसकेका छौँ।”

पुनर्निर्माणका तगारा के छन्

नियमित सार्वजनिक खरिद ऐनअन्तर्गत विद्यमान विधिबाट अहिले क्षति भएका संरचनाहरू निर्माण गर्दा महिनौँ लाग्ने उनी बताउँछन्।

खानेपानी मन्त्रालयका पूर्वसचिव माधव बेल्बासेका अनुसार बर्खाको स्तर हेर्दा मेलम्ची आयोजनामा भएको क्षति “अकल्पनीय स्तरको भएको” टिप्पणी गर्दै पानीसँगै लेदो समेत मिसिएर आएको हुनाले बढी क्षति भएको हुन सक्छ।

उनले भने, “सौभाग्यवश सुरुङ बन्द भएको अवस्था थियो जसले गर्दा त्यहाँभित्र कुनै पनि किसिमको क्षति हुन पाएन, त्यो राम्रो हो। यस्तो अवस्थामा पनि हेडवर्क्सले त्यसलाई थाम्यो र अडिएर बस्यो भन्ने कुरा छ। मेलम्चीलाई तुरुन्तै सञ्चालनमा ल्याउन यी एकदमै सकारात्मक कुरा हुन्।”

उनी थप्छन्, “अहिलेको अवस्थामा त्यहाँसम्म पहुँच कायम हुने सडक निर्माण गर्नु एकदमै महत्त्वपूर्ण छ। मलाई लाग्छ हामीले युद्धस्तरमा काम गर्नुपर्ने हुन्छ। बेलीब्रिजहरू भटाभट राख्ने र बाटो निर्माणका लागि द्रुत हिसाबले काम नगर्ने हो भने अझै ढिला हुन सक्छ।”

मेलम्ची सुरुङ
तस्बिरको क्याप्शन,मेलम्चीको पानी ल्याउन झन्डै २७ किलोमिटर लामो सुरुङ निर्माण गरिएको छ

उनले अम्बाथाननजिकै रहेको पुल नहुँदासम्म त्यहाँ नजिकको सुरुङमा पहुँच कायम गर्न नसकिने बताउँदै दुईवटा पुल बनाउने कुरा उच्च प्राथमिकतामा राखिनुपर्ने बताए।

“हामीले कुनै तरिकाले पानीलाई बाहिर निकाल्ने काम निरन्तरता दिन पाइयो भने सुन्दरीजलबाटै पहुँच कायम गर्न सकिन्छ। सुरुङबाट हामी सीधै अम्बाथान जान सक्छौँ, हेलिप्टरबाट लिएर गएर बेलीब्रिज राखिदिनेबित्तिकै हाम्रो सीधा पहुँच कायम भइहाल्छ। योजना बनाएर गर्ने हो भने धेरै कामहरू गर्न सकिन्छ।”

आगामी दिनमा के ध्यान दिनुपर्छ

उनले निर्माणमा खटिएका कामदारहरूले ज्यान गुमाएका र बेपत्ता भएकाले ठेकेदारहरूको मनोबल पनि कमजोर भएको उल्लेख गर्दै त्यसलाई सम्बोधन गर्नुपर्ने आवश्यकता रहेको बताए।

मेलम्ची खानेपानी आयोजना पूर्ण क्षमतामा सञ्चालनमा आउँदा दैनिक १७ करोड लिटर पानी वितरण गर्न सकिने अधिकारीहरूले बताएका थिए।

केही समयअघि उक्त आयोजनामार्फत् पानी वितरण कार्यक्रमको उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले विक्रम संवत् २०८१ सम्ममा याङ्ग्री र लार्केको पानी पनि काठमाण्डूमा झार्ने बताएका थिए।

तर पूर्वसचिव बेल्बासेले अव ती दुई नदीमा संरचनाहरू निर्माण गर्दा जलवायु परिवर्तनले निम्त्याएका विभिन्न किसिमका घटनाक्रमसहित पछिल्लो विपद् र त्यसको क्षतिलाई पनि ध्यान दिनुपर्ने बताउँछन्ा