संविधान र लोकतन्त्रको रक्षार्थ विपक्षी गठबन्धनले सहकार्य गर्ने



काठमाडौं । विपक्षी गठबन्धनका शीर्ष तीन नेताहरूले सोमबार साँझ भएको छलफलमा संविधान र लोकतन्त्रको रक्षार्थ आपसी अविश्वास उत्पन्न हुन नदिने सहकार्य गर्ने निर्णय गरेका छन्।

नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल निवास कोटेश्वरमा भएको बैठकमा तीनै नेताहरूले प्रदेशदेखि संघसम्मका सबै गठबन्धनलाई निरन्तरता दिने र सरकारविरुद्ध दृढ भएर उभिने संकल्प गरेको बैठकको निर्णयबारे सुनाउँदै एक नेताले बताए।


बैठकमा नेता नेपालसहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का उपस्थित थिए।

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध विपक्षी गठबन्धनले संघर्ष गरिरहेका छन्। ओलीले चालेको संसद् विघटनको कदमविरुद्ध तथा देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न माग गर्दै विपक्षी गठबन्धन सर्वोच्च अदालत पुगेको छ।