रोनाल्डोका दुई कीर्तिमान



यूरोकप २०२० मा विजयी शुरुवात गर्ने क्रममा क्रिस्टियानो रोनाल्डोले दुई नयाँ कीर्तिमान बनाउन सफल भएका छन् । मंगलबार राति भएको खेलमा पोर्चुगल हंगेरीविरुद्ध ३–० गोलले विजयी बनेको हो ।

पोर्चुगललाई जीत दिलाउन क्रिस्टियानो रोनाल्डोले दुई तथा राफायल गुरेरोले एक गोल गरे । योसँगै रोनाल्डो यूरोपियन च्याम्पियनसीपमा सबैभन्दा धेरै गोल गर्ने खेलाडी बनेका छन् । उनले मिसेल प्लाटिनीले बनाएको ९ गोलको कीर्तिमान उछिनेका हुन् ।


खेलमा रोनाल्डोले प्रतियोगितामा व्यक्तिगत १० औँ र ११ औँ गोल गरे । दुई गोलसँगै अली देइले बनाएको सर्वाधिक अन्तर्राष्ट्रिय गोलको कीर्तिमानको पनि उनी झनै नजिक पुगेका छन् । रोनाल्डोको अन्तर्राष्ट्रय खेलहरुमा गोल संख्या १०६ पुगेको छ । देइले १०९ गोल गरेका छन् ।

त्यस्तै, रोनाल्डो पाँचवटा यूरोपियन च्याम्पियनसिप खेल्ने पहिलो खेलाडी पनि बनेका छन् । बुडापेस्टमा भएको खेलमा शुरुवात गर्दै रोनाल्डोले यो कीर्तिमान पनि बनाएका हुन् । सन् २००४ मा उनले पहिलोपटक प्रतियोगितामा भाग लिएका थिए ।

त्यसयता उनले २००८, २०१२ र २०१६ को यूरो कपमा पनि भाग लिएका थिए । उनले सबै संस्करणमा गोल पनि गरेका छन् । रोनाल्डोले मात्र होइन पोर्चुगलले पनि खेलमा कीर्तिमान बनाउन सफल भएको छ ।