इटाली १६ औं संस्करणको युरोकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । बुधबार राति भएको समूह चरणको दोस्रो खेलमा स्विजरल्याण्डलाई ३-० गोल अन्तरले पराजित गर्दै इटाली नकआउट चरणमा प्रवेश गरेको हो ।
ओलम्पिक स्टेडियममा इटालीलाई जित दिलाउन म्यानुएल लोकाटेलीले दुई गोल गरे । सिरो इमोबाइलले एक गोल गरे ।
खेलको २६ औं मिनेटमा लोकाटेलीले गोल गर्दै इटालीलाई सुरुवाती अग्रता दिलाए । त्यसपछि खेलको ५२ औं मिनेटमा लोकाटेलीले व्यक्तिगत दोस्रो गोल गर्दै इटालीलाई २-० को अग्रता दिलाए । त्यसपछि खेलको ८९ औं मिनेटमा इमोबाइलले गोल गर्दै इटालीलाई ३-० को जित दिलाए ।
जितसँगै समूह ए को इटाली अन्तिम १६ मा प्रवेश गर्ने पहिलो टिम बनेको छ । लगातार दोस्रो जित निकालेको इटालीले २ खेलमा ६ अंक जोडेको छ । इटाली समूहको शीर्ष स्थानमा रहेको छ । २ खेलमा १ अंक जोडेको स्विजरल्याण्ड समूहको तेस्रो स्थानमा छ ।