बाँके, बर्दियामा चैतेधान खेति ब्यापक हुँदै



नेपालगञ्ज । सिक्टा सिंचाई आयोजनाको नहरबाट १२ रै महीना पानी आउन थालेपछि बाँके जिल्लाका किसानहरुले वर्षमा दुई खेति धान उत्पादन गर्न थालेका छन् । यस अघि वर्षा सिजनमा एक खेति मात्रै धान उत्पादन गर्ने किसानहरु चैते धान समेत उत्पादन हुन थालेपछि खुशी देखिएका छन् ।
वर्षेधान भन्दा चैते धानको उत्पादन डेढी हुनेभएकोले किसानको आम्दानी बढ्ने देखिएको छ । यस वर्ष केही किसानहरुले भित्र्याएको धानवाली देखेर बाँके जिल्लाका अन्य किसानहरु पनि अकार्षित भएका छन् । पश्चिम तराईको बाँके र बर्दिया जिल्लालाई अन्नको भण्डार भनेर आम मानिसहरुले चिनिने गरेका छन् ।
बर्दियाका किसानहरु १ दशक अघि देखि चैते धान तर्फ आकर्षित भए पनि उत्पादन लिन सकिरहेका थिएनन् । यो वर्ष भने बाँकेका किसानहरुले चैते धान फलाउन सफल भएका छन् । राष्ट्रिय गौरवको अयोजनाले नहरमा पानी आउन थाले चैते धान लगाउन किसान उत्साही भएका थिए ।
नहरमा १२ महिना पानी आउन थालेपछि किसानहरुलाई कृषि ज्ञान केन्द्र बाँकेले मल र धानको बिउ उपलब्ध गराएको थियो । चैते धान फलाउन सफल बैजानाथ गाँउपालिका ८ झिंगौराका किसान अजित कुमार सुनारले यो वर्षको परिक्षण सफल भएले अर्को बर्ष देखि थप जमिनमा धान रोप्ने सोच बनाएको बताए ।

कोहलपुर नगरपालिका १५ चौधरिया गाँउका किसान ज्ञानबहादुर नेपाल आफ्नो ११ कठ्ठा जमिनमा चैते धान पाक्न लागेकोमा औधी ख्ुशी छन् । असार पहिलो सातासम्म चैते धान थन्काएर बर्षे धान लगाउने तयारीमा उनी छन्

बाँकेका किसानहरुलाई कृषि ज्ञान केन्द्रले परीक्षणको रुपमा हल्दीनाथ– ३ र चैते धान– ५ नामक धानको विउ उपलव्ध गराएको थियो । एकवर्षमै सुरुमा बर्षेधान, त्यसपछि हिँउदमा मसुरो हुँदै चैतमा चैते धान खेती हुन थाले पछि किसानको आय स्तर बढेको छ । कृषि ज्ञान केन्द्र बाँकेले किसान अजित सुनारलाई प्रोत्साहन गर्न यो वर्ष चैते १ जातको धान उपलब्ध गराएको थियो ।
धान लगाउनका लागि ज्ञान केन्द्रले किसानलाई निशुल्क परामर्श र मल बीउ समेत उपलब्ध गराएको कृषि ज्ञान केन्द्र बाँकेका अधिकृत दिनेश भट्टराईले बताए । अर्को वर्ष थप किसानहरुलाई चैते धान रोपाईको कार्यक्रम ल्याउने उनले बताए ।

किसानहरुले गर्मि हुने ठाँउमा चैते धान फलाएर अन्य किसानहरुलाई उत्पादनमा जोडिन हौसला दिएका छन् । बाँकेमा चैते धान फल्ने खेतमा गँहु, मकै र तरकारीको खेती गर्ने चलन छ । सिक्टा सिँचाइ आयोजनाको सिंचित हुने क्षेत्रमा धान उतपादन गरेर किसानहरुलाई बैकल्पिक उत्पादनको बाटो देखाएको छ ।
भेरी बबई बहुउद्देस्यीय ड्राइभर्सन आयोजना निर्माण सम्पन्न भए पछि बाँके र बर्दिया जिल्लाको करिव ६० हजार हेक्टर जमिनमा हिउँदमा पनि सिंचाईको व्यवस्था हुनेछ । उक्त आयोजना सम्पन्न हुने चरणमा रहेकोले कृषि ज्ञान केन्द्रले चैते धान खेती गर्न चाहने किसानहरुलाई सुरुको वर्ष निशुल्क मल र धानको बिउ उपलब्ध गराएर चैते धान लगाउने किसानहरुलाई थप हौशला दिने तयारी गरेको छ । चैते धान उत्पादनले बाके र बर्र्दिया जिल्लामा व्यापकता पाउना साथ कर्णाली अंचलका जिल्लामा चामलको भाउ सस्तो हुने अनुमान गरिएको छ ।