नेपाल बुद्धिचाल संघका पूर्व अध्यक्ष राजेशहरी जोशीको निधन

काठमाडौँ – नेपाल बुद्धिचाल संघका पूर्व अध्यक्ष राजेशहरी जोशीको हृदयघातका कारण आइतबार साँझ निधन भएको छ।
ललितपुरको पाटन सुन्धारास्थित निवासमा बसिरहेका बेला ६५ वर्षीय जोशीलाई हृदयघात भएको थियो। अस्पताल पुर्याइए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
जोशी नेपाल बुद्धिचाल संघमा ८ वर्ष अध्यक्ष भएका थिए। उनी विश्व बुद्धिचाल महासंघमा एक कार्यकाल बोर्ड सदस्य र एक कार्यकाल अनुशासन समिति सदस्य भएका थिए।
भारतबाहेक एसियाका ६ देशलाई प्रतिनिधित्व गर्ने समितिमा पनि उनी ४ वर्ष अध्यक्ष रहेका थिए।
जोशी राष्ट्रिय सहकारी बैंकका संस्थापक अध्यक्ष पनि हुन्। उनी नेसनल डेभलपमेन्ट कोअपरेटिभ लिमिटेडका कार्यकारी अध्यक्ष पनि थिए।