प्रतिनिधिसभा विघटनसम्बन्धी रिटमा निवेदक तर्फको बहस सकियो



१३ असार, काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा रिट निवेदक पक्षको बहस सकिएको छ । असार ९ गतेदेखि सुरु भएको रिट निवेदक शेरबहादुर देउवासहित १४६ सांसदको तर्फको बहस आइतबार सकिएको हो ।सुरुवाती बहसका लागि निवेदकका कानुन व्यवसायीलाई संवैधानिक इजलासले १२ घण्टा समय तोकेको थियो ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराई सम्मिलित इजलासले संसद विघटन मुद्दाको पक्ष र विपक्ष दुबै पक्षलाई १५/१५ घण्टा बहसको समय तोकिदिएको थियो ।


रिट निवेदक पक्षले पाएको १५ घण्टामध्ये १२ घण्टा सकिएको छ । ३ घण्टा समय भने रिट निवेदकको विपक्षीले बहस गरेपछि जवाफ बहसका लागि छुट्याइएको छ ।

चार दिनको बहसमा ३६ जना कानुन व्यवसायीले बहस गरेका थिए ।आइतबार निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता सविता भण्डारी, बाबुराजा जोशी, अधिवक्ता पदम रोका, भीमार्जुन आचार्य, वरिष्ठ अधिवक्ता बाबुराम कुँवर, सतिशकृष्ण खरेल, नरहरि आचार्य, डा. चन्द्रकान्त ज्ञवाली, उमेश गौतम र यदुनाथ खनाल लगायत १६ जनाले बहस गरेका छन् ।

सोमबारबाट प्रधानमन्त्रीका कानुन व्यवसायी र सरकारी वकिलले बहस सुरु गर्नेछन् ।