पार्टीको आधिकारिकताका लागि जसपाको यादव पक्ष निर्वाचन आयोग जाने



काठमाडौं । पार्टीको आधिकारिकताको माग गर्दै जनता समाजवादी पार्टी पुनः निर्वाचन आयोग जाने भएको छ । जनता समाजवादी पार्टीको बिहीबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले पार्टीको आधिकारिकताको माग गर्दै निर्वाचन आयोगमा जाने निर्णय गरेको जसपा अध्यक्ष डा. बाबुराम भट्टराईले जानकारी दिए ।

पार्टीमा आफ्नो पक्ष स्पष्ट बहुमतमा भएको र पार्टीको कार्यदिशा र योजनाको पक्षमा पनि आफूहरु नै रहेकाले पार्टीको आधिकारिकता माग गर्ने निर्णय गरिएको उनले बताए ।


उनले भने, ‘निर्वाचन आयोगमा हाम्रो पार्टीमा केही व्यक्तिहरुले जुन विवाद सिर्जना गरेका छन्, त्यसको निरुपणका निम्ति पार्टीको आधिकारिकताको टुंगो लगाउनलाई निर्वाचन आयोगमा फेरि प्रस्तुत हुने भन्ने हामीले निर्णय गरेका छौँ । किनकी हाम्रो पार्टीको स्पष्ट बहुमत अहिलेपनि हामीसँग छ ।’

उनले महन्थ ठाकुर पक्षले पार्टीको नाम र लोगो दुरुपयोग गरेको पनि बताए । कार्यकारिणी समिति बैठकले पार्टीको जनपरिचालनका लागि कार्ययोजना बनाउन मृगेन्द्रसिंह यादवको संयोजकत्वमा ७ सदस्यीय कार्यदल पनि बनाएको छ ।

बैठकले तराई मधेशका सिमावर्ती क्षेत्रमा हुने डुबानको बारेमा भारतसँग कुरा गरेर समस्याको समाधान गर्न आग्रह गर्ने निर्णय पनि गरेको छ । जसपाले बाढी, पहिरोको समस्यामा तत्काल राहत, उद्दारको काममा खट्न पनि नेता कार्यकर्तालाई निर्देशन दिएको छ ।