चुनौति बिहिन बन्दै देउवा

काठमाडौ । नेपाली कांग्रेसको आन्तिरिक राजनीतिमा सभापति शेरबहादुर देउवा निकै शक्तिशाली बन्दै गएका छन् । आगामी १४ औं महाधिबशेनमा देउवालाई खासै ठूलो चुनौति नहुने देखिएको छ । नेपाली कांग्रेसको १४ औं महाधिबशेन आगामी भदौ भित्रै सम्पन्न हुने परिस्थिति उत्पन्न भयो भने देउवा इतर पक्षका लागि निकै भारी हुने परिस्थिति बन्दै गएको छ ।
देउवा पार्टीभित्र करिव–करिव चुनौतिविहीन छन् । डा. शशांक कोइराला, विमलेन्द्र निधि र प्रकाशमान सिंह एक ठाउँमा नउभिँदासम्म देउवाका लागि पार्टीभित्र खासै चुनौति छैन । तर, यी तीनजना नेता एकै ठाउँमा उभिने परिस्थिति छैन । त्यो परिस्थितिको निर्माण रोक्न देउवाको किचेन क्याबिनेट सक्षम छ ।
प्रकाशमानलाई कमजोर बनाउन गगन थापा र विमलेन्द्रलाई कमजोर बनाउन सुरुमा खुमबहादुर , त्यस पछि गच्छदारको प्रयोग गरेका देउवाले अब गोपालमान उभ्याउँदै छन् । नेपाली कांग्रेसभित्र सिटौला समूहको उदयलाई तेस्रो धारका रुपमा व्याख्या गर्नेहरु पनि धेरै छन् । तर, यो धार जति बलियो बन्दै जान्छ, देउवाका लागि त्यति नै सहयोगी सिद्ध हुन्छ । यो धारबाट अघि आउने सम्भावना गगन थापाले बोकेका छन् । तर, उनका पछि लाग्ने युवाहरु राजनीतिमा टिकिरहेको देखिन्न ।
विगत १५ वर्षदेखिका गगनका हरेक गतिविधि देउवाका लागि लाभप्रद बन्दै गएका छन् । नेपाली कांग्रेसलाई आफ्नो हातमा लिने आरजु राणाको दीर्घकालीन योजनामा गगनका गतिविधि बाधक होइन, साधक हुने देखिन्छ ।
सभापति शेरबहादुर देउवाले फेरी सभापति बन्ने घोषणाका साथ तयारी अघि बढाइ रहे पनि इतर पक्षबाट भने को उमेद्वार बन्ने अझै टुंगो छैन । इतर पक्षबाट वरिष्ठ नेता रामचन्द्र पौडेल , महामन्त्री डा. शशांक कोइराला, पुर्वउपसभापति प्रकाशमान सिंह , नेता डा. शेखर कोइराला , नेतृ सुजाता कोयराला लगायत आधा दर्जन भन्दा बढीले सभापति पदको उमेदवारी दावी गरेका छन् । धेरैले सभापति पदको उमेदवारी दावी गरेपछि इतर पक्षको एकतामा संकट उत्पन्न भएको थियो । महाधिबशेन प्रतिनिधि छनौट नभएसम्म कसैले पनि सभापतिका लागि प्रचार प्रसार नगर्ने सहमति भएको थियो । उक्त सहमति अनुसार इतर पक्षका कसैले पनि सार्वजनिक रुपमा उमेदवारी घोषणा गरेका छैनन् । महाधिबशेन प्रतिनिधि छनौट भइसके पछि आकांक्षीमध्येबाट एक जनालाई अघि सार्न सकिनेमा इतर पक्ष ढुक्क छ । तर महाधिबशेन अपरझट हुने संभावना बढेका कारण इतर पक्ष अन्यौल देखिएको छ ।
गत १३ औं महाधिबशेनका क्रममा पनि देउवाले आफ्नो पक्षलाई एक ढिक्का बनाउँदै पाँच वर्ष अघि देखि नै आफ्ना लागि तयारी अघि बढाइरहेका थिए, तर त्यतिबेलाको संस्थापन पक्षले भने उमेदवारी मनोनयनको दिनसम्म पनि सभापतिका रुपमा कसलाई अघि सार्ने ? भन्ने टुंगो लगाउन सकेको थिएन । मनोनयनको बिहानसम्म वरिष्ठ नेता पौडेल, नेता डा. शेखर, प्रकासमान र सुजाता चुनाव प्रचार प्रसारमै थिए । बडो मुस्किलले पौडेलको नाममा सहमति त बन्यो तर अन्य आकांक्षी डा. शेखर र सु्जाता असन्तुष्ट बने । नेतृ सुजाताले असन्तुष्टि व्याक्त नगरे पनि डा. शेखरले भने उपप्रधानमन्त्री पाउने गोप्य सहमति गरी आफ्ना निकटस्थहरुको मत देउवालाई खन्याइदिए । त्यतिबेला आफ्नै प्यानल भित्र व्यवस्थापन गर्न नसक्दा पौडेलले चुनाव हारेका हुन् ।
यतिबेला पनि आफ्नो पक्षलाई व्यवस्थापन गर्न इतर पक्षले नसक्ने होकी , भन्ने अवस्था सिर्जना भएको छ । गत शनिबार बसेको पदाधिकारीको बैठकले महाधिबेशनको समय एक साता पछि धकेलेको छ भने स्थानीय अधिबशेनको समय उक महिना पछि धकेलेको छ । विगतमा कम्तिमा एक महीना अघि महाधिबशेन प्रतिनिधि छनौट भइसक्थे । तर यस पटक महाधिबशेन भइहाल्यो भने पनि बढीमा १५ दिन अघि मात्रै महाधिबशेन प्रतिनिधिहरु छनौट हुने अवस्था छ । महाधिबशेन प्रतिनिधि छनौट र महाधिबशेनको मिति वीचको समय जति छोटो भयो संस्थापन पक्षलाई त्यति नै लाभ हुन्छ । त्यसमा पनि संस्थापन पक्षमा सभापतिको उमेदवार देउवा बन्ने कुरा फिक्स जस्तै छ , तर इतर पक्षमाले यस पटक पनि उमेदवार मनोनयनको अघिल्लो दिनसम्म सभापति पदमा को उमेद्वार बन्ने फिक्स नहुने अवस्था सिर्जना भएको छ ।

कांग्रेसले महाधिबशेनको कार्यतालिका चौथो पटक संसोधन गरेको हो । बैशाख यता तेस्रो पटक संसोधन गरिएको हो । यस अघि पछिल्लो पटक संसोधन गरिएको कार्यतालिकामा भदौ ७ देखि १० गतेसम्म महाधिवेशन गर्ने तय थियो । यसलाई संसोधन गरी १६ देखि १९ गतेसम्म धकेलिएको छ ।
यसैगरी क्रियाशिल सदस्यताको अन्तिम सूचि जेठ १५ गते भित्र सभापतिलाई बुझाउने भनिएकोमा असार २० गते बुझाउने गरी संसोधन गरिएको छ । पार्टी सभापतिमार्फत अन्तिम सूची २०७८ असार २४ गतेभित्र केन्द्रीय निर्वाचन समितिलाई बुझाउने भनिएको छ ।
असार ६ गते हुने भनिएको वडा अधिवेशन अब साउन ६ गते हुने तय गरिएको छ । पालिका अधिवेशन साउन ११ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन साउन १६ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन तथा एक प्रतिनिधिसभा क्षेत्र भएका जिल्लाको अधिवेशन साउन २० गते हुने कांग्रेसले जनाएको छ । प्रदेश अधिवेशन २०७८ भदौ १ र २ गते गर्ने प्रस्ताव गरिएको छ । संसोधित कार्यतालिका पारित गर्न कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक असार ३ गते बिहीबारका लागि बोलाएको छ ।
भदौ २३ गते भित्र १४ औं महधिबेशन सम्पन्न नगरे निर्वाचन आयोगले दलदर्ता खारेज गर्न सक्ने भएकोले कांग्रेस संकटमा छ । संविधानमा एउटा महाधिबशेन र अर्को महाधिबशेनको अबधी साँढे पाँच वर्ष भन्दा बढी हुन नहुने प्रावधान छ । कांग्रेसको १३ औं महाधिबशेन सम्पन्न भएको मिति आगामी भदौ २३ गते साँढे पाँच वर्ष पुग्ने छ ।