काँकरभिट्टा नाकाबाट नौ महिनामा साढे चार अर्बको तरकारी र फलफूल आयात



झापा । कृषि वस्तुमा आत्मनिर्भर बन्न नसक्दा भारतबाट ठूलो मात्रामा ताजा तरकारी तथा फलफूल आयात हुने गरेको छ । चालु आर्थिक वर्ष २०७९/८० को नौ महिनामा पूर्वीनाका काँकरभिट्टाबाट चार अर्ब ४१ करोड ७३ लाख ८९ हजार रुपैयाँको ताजा तरकारी र फलफूल नेपाल भित्रिएको प्लान्ट क्वारेन्टाइन कार्यालय काँकरभिट्टाले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी चन्देश्वर ठाकुरका अनुसार चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्ममा काँकरभिट्टा नाकाबाट एक लाख ८० हजार आठ सय १७ मेट्रिक टन तरकारी तथा फलफूल नेपाल भित्रिएको छ । भारतबाट ताजा फलफूलभन्दा झन्डै दोब्बर मूल्य बराबरको तरकारी नेपाल भित्रिने गरेको छ ।


नौ महिने अवधिमा दुई अर्ब ६२ करोड ६३ लाख ५३ हजार रुपैयाँ मूल्य बराबरको एक लाख ४७ हजार छ सय ५३ मेट्रिक टन ताजा तरकारी नेपाल भित्रिएको पाइएको छ । सोही अवधिमा एक अर्ब ७९ करोड १० लाख ३६ हजार मूल्य बराबरको ३३ हजार एक सय ६४ मेट्रिक टन ताजा फलफूल नेपाल भित्रिएको प्लान्ट क्वारेन्टाइनले जनाएको छ ।