बौद्धक्षेत्रको विकास र प्रवर्द्धन गर्न सरकार प्रतिवद्ध : प्रधानमन्त्री 



काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बुद्ध दर्शन, बुद्धको जन्मभूमि लुम्बिनी र महत्वपूर्ण सबै बौद्धक्षेत्रको विकास र प्रवर्द्धन गर्न नेपाल सरकार प्रतिवद्ध रहेको बताएका छन् । २५६७ औं बुद्ध जयन्तीको अवसरमा शुभकामना दिँदै उनले यस्तो जानकारी दिएका हुन् । 

उनले बुद्ध भौतिकवादी र द्वन्द्ववादी दुबै भएको बताएका छन् ।  वर्गीय समाज र दुःखको सार्वभौम चरित्रको वस्तुगत धरातलमा उभिएर बुद्धले भिक्षु संघको परिकल्पना र अभ्यास दुबै गरेको बताए । 


दर्शनको क्षेत्रमा मात्र नभएर चिन्तन र समाज विज्ञानको क्षेत्रमा उनको योगदान विश्वव्यापी रूपमा सर्वमान्य रहेकाले पूर्वीय दर्शन र सभ्यताको पछिल्लो युगमा बुद्ध सबैभन्दा प्रख्यात र मान्य व्यक्तित्व मानिएको पनि प्रधानमन्त्री प्रचण्डले बताएका छन् । 

नेपालको भूमिमा जन्मिएका शान्तिका अग्रदूत बुद्धले सम्पूर्ण मानव जातिको कल्याणको संकल्पसहित गृहत्याग गरी कठोर परिश्रमबाट बोधिज्ञान प्राप्त गरेको प्रसङ्ग आज पनि उत्तिकै महत्वपूर्ण रहेको बताए । 

त्यसैगरी उनले मानव जातिको सर्वाङ्गीण हित र शान्तिका लागि उनले गरेको त्याग, लिएको विचार र अभ्यास नेपालीहरूका लागि विशेष ऐतिहासिक गौरवका विषय  भएको समेत बताएका छन् ।